काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तलगायतको हत्यामा संलग्नलाई कानूनी कठघरामा ल्याउने कार्यमा सरकार लागिरहेको बताए ।
राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।
सुरक्षा निकायको आवश्यकतानुसार मनोबल उच्च बनाउन आवश्यक सुविधा बढाउने व्यवस्था गरिएको जानकारी दिँदै उनले समग्र शान्तिसुुरक्षालाई थप बलियो बनाई सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने उल्लेख गरे ।
उनले कैदीबन्दीलाई तालीम प्रदान गरी काममा लगाउन बजेट विनियोजन भएको जानकारी दिए ।
गृहमन्त्री थापाले तस्करीलगायत सङ्गठित अपराधविरुद्ध ठूलो सफलतामा हासिल भएको तथा तस्करी र सङ्गठित अपराध घटाउने विषयमा काम भइरहेको बताए ।
उनले स्थानीय सरकारको नेतृत्वमा लागूऔषध रोकथाम र पुनःस्थापना अभियान सञ्चालन गरी हिंसारहित समाज बनाउने अभियान शुरु गरिएको बताउँदै सीमा नाकामा भएका गतिविधिमा निगरानी गर्न क्यामेरा जडान गरिने जानकारी दिए ।