१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित



अ+ अ-

काठमाडौँ। भदौ १० गतेको भोटेकोशी बाढीबाट देशभर ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक आँकलन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘शिघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आँकलन’ प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतकाअनुसार क्षतिग्रस्त घरधुरीका आधारमा ३२ हजार ९३३ नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

सार्वजनिक गरिएको यो विवरण प्रारम्भिक प्रतिवेदन मात्र भएको र विस्तृत क्षति आकलन आउन बाँकी रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।

बाढीका कारण सरकारी तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । प्रतिवेदनअनुसार ४८ वटा सरकारी संरचनामा क्षति पुगेको छ, जसमध्ये ३५ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १३ वटामा आंशिक क्षति पुगेको छ ।

त्यसैगरी, शिक्षा क्षेत्रतर्फ १८ वटा विद्यालयमा क्षति पुगेको छ, जसमा ११ वटा पूर्ण र ७ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । स्वास्थ्य क्षेत्रका ७ वटा संस्थाहरूमा क्षति पुगेको छ, जसमा ४ वटा पूर्ण र ३ वटा आंशिक छन् ।

भौतिक पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यस्तै, ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रवक्ता महतले जानकारी दिनुभयो ।

कृषि क्षेत्रमा १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा बाढीले क्षति पु¥याएको अनुमान गरिएको छ । यसबाट ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने आँकलन गरिएको छ । प्रभावित पाँचवटै जिल्लामा पशु तथा कुखुरा पालन व्यवसायमा समेत ठूलो असर परेको छ ।

ऊर्जा र वित्तीय क्षेत्रमा पनि बाढीको गम्भीर प्रभाव देखिएको छ । बाढीका कारण ७८३ मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ ।

यसअन्तर्गत १३ वटा जलविद्युत आयोजना, एउटा सोलार प्लान्ट र दुईवटा प्रशारण लाइनमा क्षति पुगेको छ । यस्तै, प्रभावित क्षेत्रका १७ वटा बैंकका शाखाहरूमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ । –न्युज एजेन्सी नेपाल