काठमाडौं । एशोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) का अध्यक्ष कृष्णकुमार बोहराले प्रारम्भिक बालशिक्षामा लगानी बढाउन सरकारसँग माग गर्नुभएको छ ।
आइतबार ललितपुरमा आयोजित ‘शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाको सवाल’ विषयक बृहत् शैक्षिक बहस कार्यक्रममा बोल्दै उहाँले गुणस्तरीय शिक्षाको आधार प्रारम्भिक बालशिक्षा भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट वृद्धि गर्नुपर्ने बताउनुभएको हो ।
अध्यक्ष बोहराले आगामी कम्तीमा ५० वर्षसम्म शिक्षा क्षेत्रलाई मार्गनिर्देशन गर्न सक्ने दूरदर्शी शिक्षा ऐन बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रारम्भिक बालशिक्षाको जग बलियो बनाए मात्रै माध्यमिक तहसम्मको शिक्षालाई गुणस्तरीय, प्रभावकारी र सीपमूलक बनाउन सकिन्छ ।
उहाँले प्रारम्भिक बालशिक्षाको विकासलाई शिक्षा मन्त्रालयको मात्र जिम्मेवारीका रूपमा लिन नहुने बताउँदै स्वास्थ्य मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र खाद्य गुणस्तरसम्बन्धी निकायबीच समन्वय आवश्यक रहेको औँल्याउनुभयो ।
‘२०२८ सालको शिक्षा ऐनले प्रारम्भिक बालशिक्षादेखि माथिल्ला तहसम्मको शिक्षालाई समेट्दै यहाँसम्म ल्याएको छ । त्यसैगरी अब बन्ने शिक्षा ऐनले कम्तीमा आगामी ५० वर्षसम्म मार्गनिर्देशन गर्न सक्नुपर्छ,’ उहाँले भन्नुभयो ।
बोहराले प्रारम्भिक बालशिक्षाको विकासमा सरोकारवाला सबै निकायको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै यस तहको शिक्षालाई प्रभावकारी बनाउन नीतिगत, आर्थिक र संस्थागत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले माध्यमिक तहको शिक्षालाई गुणस्तरीय र सीपयुक्त बनाउने हो भने प्रारम्भिक तहदेखि नै पर्याप्त लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । प्रारम्भिक तहको जग कमजोर भए माथिल्लो तहको शिक्षामा अपेक्षित गुणस्तर हासिल गर्न कठिन हुने उहाँको भनाइ छ ।
अध्यक्ष बोहराले प्रारम्भिक बालशिक्षासम्बन्धी विषयलाई शिक्षा ऐनमा मात्रै सीमित नराखी पाठ्यक्रममा समेत समेट्नुपर्ने बताउनुभयो । बालबालिकाको समग्र विकास र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि ऐन निर्माणदेखि पाठ्यक्रम विकाससम्म प्रारम्भिक बालशिक्षालाई प्राथमिकता दिनुपर्ने उहाँको जोड छ ।
— न्युज एजेन्सी नेपाल








