काठमाडौं । केन्या गणराज्यको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गरेका छन्।
सभामुख अर्यालसँगको भेटमा केन्यासहित विभिन्न अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूको अवस्था, उनीहरूको कानुनी हैसियत तथा आवश्यक सहजीकरणका विषयमा छलफल भएको छ।
भेटका क्रममा डा. अस्करले अफ्रिकी मुलुकमा रहेका नेपालीहरूको बसोबाससम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारमार्फत आवश्यक कूटनीतिक पहल र सहयोग गरिदिन सभामुख अर्यालसमक्ष अनुरोध गरेका थिए।
यस्तै, दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास बन्द भएपछि त्यहाँ रहेका नेपालीहरूले भोग्नुपरेका समस्या र उनीहरूलाई आवश्यक कूटनीतिक तथा कन्सुलर सेवा उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो।
डा. अस्करले अफ्रिकी मुलुकमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग र सेवा उपलब्ध गराउन प्रभावकारी पहल आवश्यक रहेको धारणा राखेका थिए।








