काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको उत्तरी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परी कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् भने चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगरका करिब ३५ घर बगेका छन्।
बाढीले जिल्लाका विभिन्न स्थानमा रहेका सडक तथा आवागमनसँग सम्बन्धित संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुईवटा मोटरेबल पुलसहित कुल छवटा पुल बगाएको छ।
बाढीका कारण आरुघाट–धादिङको त्रिपुरासुन्दरी जोड्ने पुल र आरुघाटको सोती–मान्बु जोड्ने पक्की पुल बगेका छन्। धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजमा समेत बाढीले क्षति पुर्याएको छ।
त्यस्तै, माछिखोला–केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्याङ–जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।
बाढीले चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगरका बस्तीमा बढी क्षति पुर्याएको छ। ती दुई स्थानका करिब ३५ घर बाढीले बगाएको स्थानीय प्रशासनले जनाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत बाढीले घर तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको छ।
बाढीमा परेर कम्तीमा १० जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा बाढीको अवस्था र क्षतिको विवरण संकलन तथा खोज तथा उद्धारको काम भइरहेको छ।
ठूला तथा झोलुङ्गे पुलहरू बगाएपछि उत्तरी गोरखाका विभिन्न बस्तीबीचको आवागमन प्रभावित भएको छ। सडक तथा पुलमा भएको क्षतिका कारण प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक सामग्री पुर्याउनसमेत कठिनाइ भएको छ।
बूढीगण्डकीको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ।








