काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित स्यार खोला थुनिएर आएको बाढीका कारण बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार विज्ञप्ति जारी गर्दै बाढीका कारण पक्की तथा झोलुङ्गे पुल, विभिन्न भौतिक संरचना र बस्तीमा क्षति पुगेकोप्रति दुःख व्यक्त गरेका हुन्।
उनले बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेको उपचार तथा बेपत्ताको खोजी कार्य प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्। प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित आवास र आवश्यक खाद्यान्न उपलब्ध गराउँदै जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिन पनि उनले आग्रह गरेका छन्।
लिङ्देनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारको पुनर्स्थापनाका लागि सरकारले अविलम्ब आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।
‘यस दुःखद घडीमा प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी उहाँहरूको साथमा रहेको विश्वास दिलाउँदछु,’ विज्ञप्तिमा भनिएको छ।
राप्रपाले बुढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउनसमेत अपिल गरेको छ।








