काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बाढीले बगाएको छ। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको छ भने बूढीगण्डकी नदीको बहाव निरन्तर बढिरहेको भन्दै गृहमन्त्री सुधन गुरुङले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चुमनुब्रीमा बाढीले पुर्याएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
उनका अनुसार घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार र राहत कार्यमा परिचालन गरिएको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेको उनले बताएका छन्।
विशेषगरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन गृहमन्त्री गुरुङले अनुरोध गरेका छन्।
उनले बाढी प्रभावित तथा जोखिममा रहेका नागरिकलाई धैर्य राख्न र आफ्नो सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दै कुनै पनि आपत्कालीन सहायता आवश्यक परे गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन्।
नदीको बहाव बढिरहेको र बस्तीमा लेदोसहितको पानी पसिसकेको अवस्थालाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई नदी किनारबाट टाढा रहन, सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।








