काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा आज पनि मतगणना हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना बिहान ११ बजेदेखि सुरु हुनेछ।
त्यस्तै, सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना दिउँसो १२ बजेदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सुरु हुने समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालद्वारा असोज २५ गते जारी सूचनाअनुसार उपसभापति र महामन्त्री पदको मतगणना भने यसअघि नै सुरु भइसकेको छ। ती पदको मतगणना असोज २३ गते राति ९ बजेदेखि सुरु भएको हो।
समितिले आज हुने मतगणनाबारे सम्बन्धित सबै उम्मेदवारलाई जानकारी गराएको छ। सूचनामा सहमहामन्त्री पदका उम्मेदवारले आफ्ना दुई जना प्रतिनिधि राख्न पाउने व्यवस्था गरिएको उल्लेख छ।
तर, केन्द्रीय सदस्य पदका उम्मेदवारले भने आफू स्वयं उपस्थित हुनेबाहेक अन्य प्रतिनिधि राख्न नपाउने समितिले स्पष्ट पारेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको निर्वाचन प्रक्रिया जारी रहेसँगै मतगणनालाई चासोका साथ हेरिएको छ।








