काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
थापाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुब्री क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको खबरले आफू दुःखी भएको बताउनुभएको हो ।
उहाँले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गर्नुभएको छ ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनको निर्देशन पालना गर्नसमेत उहाँले सम्बन्धित क्षेत्रका नागरिकलाई अनुरोध गर्नुभएको छ ।
विपद्का कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिँदै सभापति थापाले उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ ।








