काठमाडौं । नेपाल मधुमेही समाजले आफ्नै स्वामित्वमा सुविधासम्पन्न ‘मधुमेह उपचार तथा अनुसन्धान केन्द्र’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । मधुमेहका बिरामीको बढ्दो संख्या र संस्थाको कार्यक्षेत्र विस्तार हुँदै गएपछि समाजले आफ्नै जग्गा खरिद गरी अत्याधुनिक केन्द्र निर्माण गर्ने योजना अघि सारेको हो ।
काठमाडौंमा आयोजित समाजको ३६औँ वार्षिक साधारण सभामा अध्यक्ष शिव श्रेष्ठले केन्द्र स्थापनाको अवधारणा सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार केन्द्र निर्माणका लागि हालसम्म तीन करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भइसकेको छ । तर, जग्गा तथा निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले थप आर्थिक स्रोत आवश्यक परेको छ ।
अध्यक्ष श्रेष्ठले केन्द्र निर्माणका लागि सहयोग गर्न सबैसँग अपिल गर्नुभयो । उहाँले हालसम्म समाजलाई प्राप्त सबैभन्दा ठूलो सहयोग २५ लाख ५५ हजार ५५५ रुपैयाँ रहेको जानकारी दिँदै एक सय रुपैयाँसम्म सहयोग गर्ने दाताहरूको योगदानले पनि कोष मजबुत बनेको बताउनुभयो ।
समाजले हालसम्म सहयोग गर्ने सबै दाताको नाम र योगदानको विस्तृत विवरण समेटेर पुस्तकसमेत प्रकाशन गर्ने तयारी गरेको छ । कार्यालय सञ्चालनका लागि घर उपलब्ध गराएर सहयोग गर्नुभएकी घरधनी पवित्र बज्राचार्यप्रति अध्यक्ष श्रेष्ठले आभार व्यक्त गर्नुभयो ।
समाजले मधुमेह उपचारसँगै अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई समेत प्राथमिकता दिँदै आएको उहाँले बताउनुभयो । गत मार्च ५ र ६ तारिखमा थाइल्याण्डको बैंककमा आयोजित मधुमेहसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा समाजका तर्फबाट डा. ज्यासमिन तुलाधर र आलोक श्रेष्ठले प्रस्तुत गर्नुभएका कार्यपत्र स्वीकृत भएको उहाँले जानकारी दिनुभयो । सम्मेलनमा कार्यपत्र स्वीकृत हुनुका साथै छात्रवृत्तिका अवसर प्राप्त हुनु समाजका लागि महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ ।
अन्तर्राष्ट्रिय क्षेत्रबाट संस्थाको कार्यक्षेत्र विस्तार गर्न तथा छात्रवृत्तिलगायतका अवसर बढाउन सुझाव प्राप्त भएकाले पनि आधुनिक उपचार तथा अनुसन्धान केन्द्र आवश्यक बनेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँले मधुमेहसम्बन्धी उपचार र अनुसन्धानका कामलाई थप प्रभावकारी बनाउन आफ्नै भवन आवश्यक रहेको उल्लेख गर्दै केन्द्र स्थापनाका लागि सबैको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।
समाजले गरिब तथा विपन्न समुदायको हितमा काम गर्ने व्यक्तित्वहरूको योगदानको सम्मान गर्दै आएको छ । साधारण सभाका अवसरमा समाजले डा. मृगेन्द्रराज पाण्डे, पूर्वराष्ट्रपति तथा नानीबाबु प्रधानको सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरेको छ ।
आफ्नै स्वामित्वमा सुविधासम्पन्न केन्द्र स्थापना भएपछि मधुमेहसम्बन्धी उपचार, अनुसन्धान र जनचेतनामूलक गतिविधिलाई थप विस्तार गर्न सकिने समाजको अपेक्षा छ ।








