काठमाडौं । काठमाडौंको ठमेलमा विदेशी पर्यटक, रैथाने नागरिक तथा स्थानीय समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पतालले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ ।
अस्पतालले घटस्थापनाको अवसर पारेर पोखरा महानगरपालिका–१७, पावरहाउसमा १५ शय्याको नयाँ अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालमा २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने जनाइएको छ ।
अस्पतालकी अध्यक्ष डा. सिया चेनचेनका अनुसार पोखरामा आउने विदेशी पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अस्पतालको सेवा विस्तार गरिएको हो । पोखरा र दुबईबीच सिधा नियमित हवाई उडान सुरु भएसँगै विदेशी पर्यटक तथा मेडिकल टुरिजमलाई लक्षित गरी सेवा विस्तार गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पोखरास्थित अस्पतालले विदेशी पर्यटकलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा समेत योगदान पुर्याउनेछ । अस्पतालमा विदेशी बिरामीलाई सहज उपचार सेवा उपलब्ध गराउन आवश्यक विशेष सुविधा प्रदान गरिने जनाइएको छ ।
अस्पतालका सञ्चालक समिति सदस्य विदुर खतिवडाका अनुसार संस्थाले यसअघि सन् २०२२ जुलाई २२ देखि काठमाडौंको लेकनाथ मार्गमा १५ शय्याको अत्याधुनिक अस्पताल सञ्चालन गर्दै आएको छ । उक्त संस्थालाई नेपाल वैदेशिक चिनियाँ संघले थप स्वास्थ्य सुरक्षा एकाइका रूपमा समेत प्रमाणित गरेको उहाँले जानकारी दिनुभयो ।
अत्याधुनिक प्रविधि तथा उपकरणले सुसज्जित अस्पतालले विदेशी पर्यटकका लागि भाषाको अवरोध हटाउन बहुभाषिक कर्मचारीको व्यवस्था, अन्तर्राष्ट्रिय ट्राभल इन्स्योरेन्सको दाबी प्रक्रियामा सहजीकरण तथा सम्बन्धित दूतावाससँग समन्वय गर्ने सेवासमेत पोखरामा उपलब्ध गराउने खतिवडाले बताउनुभयो ।
पोखरा र आसपासका क्षेत्रमा पदयात्रा तथा भ्रमणका क्रममा पर्यटकलाई हुन सक्ने स्वास्थ्य समस्या र आकस्मिक अवस्थाको उपचारमा नयाँ अस्पतालले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । विशेषगरी विदेशी पर्यटकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुका साथै स्थानीय समुदायलाई समेत सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालको सेवा विस्तार उपयोगी हुने विश्वास गरिएको छ ।








