१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत हो : अर्थमन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भिर गल्ती भएको बताउनुभएको हो । प्रचण्डपथ भित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उहाँको भनाई छ । यसलाई केही पनि होइन जस्तोगरी फ्याक्दा अहिलेको अवस्थामा पार्टीमा निराशा पैदा भएको उहाँले बताउनुभयो ।

अर्थमन्त्री शर्माले माओवादीले आफ्नो नेतृत्वमा भएको परिवर्तनको स्वामित्व लिन नसकेको उल्लेख गर्नुभयो । माओवादीले विद्रोह वा चुनावको सम्बन्धमा पनि दोधारे कुरा गरेका कारण पार्टी वैचारिक रुपमा अस्पष्ट भएको उहाँले बताउनुभयो । उहाँले पार्टी नेतृत्वलाई दिएको प्राधिकार खोस्नाले पार्टी टुटफुट, विभाजन र कमजोर भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१ औँ शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौँ । त्यसको सही सदूपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापि दियौँ । मानौँ त्यो केहीपनि थिएन । त्यो भित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिङ्ग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरुको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केहीपनि होइन जस्तो गरेर फ्याकीदियौँ । पार्टी केन्द्रीय समितिले गम्भिर गल्ती गर्‍यो । त्यसलाई नयाँ संश्लेषण गरेर जानुको सट्टा फ्याक्नुको कारण आज निराशा पैदा भएको हो । त्यसले विकेन्द्रीकरण ग¥यो । पार्टीमा फुट, विभाजन भयो । पार्टी नेतृत्वले प्राधिकार प्राप्त गरेको थियो त्यो समाप्त भयो र हामी कमजोर भयौँ । हाम्रो सकारात्मक पक्षहरुलाई हामीले छोड्यौँ र हाम्रा उपलब्धीप्रति गर्जिएर यो हामीले गरेको परिवर्तन भन्न सकेनौँ । सांस्कृतिक रुपमा कमजोर भयौँ । कार्यदिशा पनि स्पष्ट गर्न सकेनौँ । विद्रोह, चुनावलाई जोडेर यो, त्यो दोधारे कुरा ग¥यौँ । आफै कन्फ्युजको अवस्था सिर्जना गर्‍यौँ ।’

उहाँले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधिनताको पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । देशमा गरिबी र बेरोजगारीको अन्त्य गर्दै उत्पादन र आत्मनिर्भरताको नेतृत्व गर्नु तथा श्रमको संस्कृति बसाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।