कांग्रेसले हिमाल, पहाड र तराई–मधेस गरी तीनवटा हलमा प्रतिनिधिलाई विभाजन गरेको छ । सुरुआतमा पहाडतर्फको बन्दसत्र सञ्चालन गरिएको छ । बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ ।
हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णालीका २९९ र गण्डकीका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन् । पहाड हलमा बागमतीका १ हजार २१७ र लुम्बिनीका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि छन् ।
त्यस्तै, तराई–मधेस हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिमका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन् ।
बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले पेस गरेको पार्टी सञ्चालन तथा विधानसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक प्रस्तावमाथि छलफल हुनेछ ।
यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले यी प्रस्तावहरूलाई बन्दसत्रमा पेस गर्ने निर्णय गरेको थियो । प्रवक्ता देवराज चालिसेका अनुसार विशेष महाधिवेशनबाट गठित वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हो ।
सभापति थापाको राजनीतिक प्रस्तावमा आगामी चार वर्षका लागि कांग्रेसको कार्यदिशा, सरकार, मुलुकको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध र दृष्टिकोण समेटिएको छ । लोकतान्त्रिक संस्थालाई सबल बनाउनु आगामी दिनको प्रमुख चुनौती रहेको उल्लेख गर्दै कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो मूल सिद्धान्तका रूपमा अघि सारेको छ ।
कांग्रेसले आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति पनि अघि सारेको छ । नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा प्रस्ताव गरिएको प्रवक्ता चालिसेले बताए ।
महामन्त्री पौडेलले पेस गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्तावमा पार्टीको निर्णय प्रक्रिया, विभिन्न तहको जिम्मेवारी तथा सांगठनिक संरचनालाई व्यवस्थित गर्ने विषय समेटिएको छ । प्रारम्भिक खाकामा वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्तावसमेत गरिएको छ ।
तर, यो संरचना अन्तिम भने नभएको कांग्रेसले स्पष्ट पारेको छ । प्रवक्ता चालिसेका अनुसार सार्वजनिक गरिएको संरचना प्रारम्भिक खाका मात्रै हो । बन्दसत्रमा प्रस्ताव पेस भई प्रतिनिधिहरूले पारित गरेपछि मात्रै त्यसले अन्तिम रूप पाउनेछ ।








