काठमाडौं, १९ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताउनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको बताउनुभयो।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी छिटोभन्दा छिटो विपद् व्यवस्थापनको काम सम्पन्न गर्न सरकार सक्रिय रहेको बताउनुभयो।
“हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,” उहाँले भन्नुभयो।
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको जानकारी दिनुभयो।
विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको बताउँदै उहाँले हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम अघि बढाइएको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका क्रममा आफ्नो ज्यानसमेत जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो।








