ललितपुर । चाडबाड नजिकिएसँगै भान्सामा प्रयोग हुने एलपीजी ग्यासबाट हुनसक्ने आगलागीको जोखिम न्यूनीकरण गर्न ललितपुरमा विशेष नमूना अभ्यास (डेमो) कार्यक्रम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको कार्यक्रममा ग्यास सिलिण्डर, रेगुलेटर र पाइपको सुरक्षित प्रयोग तथा ग्यास चुहावटबाट हुने जोखिम नियन्त्रणका उपायबारे व्यावहारिक जानकारी दिइएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले एलपीजी ग्यासको प्रयोगमा हुने सामान्य लापरबाहीले ठूलो जनधनको क्षति निम्त्याउन सक्ने भएकाले सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । उहाँले सिलिण्डरलाई घाममा राख्ने, तेर्सो पारेर प्रयोग गर्ने तथा कमजोर पाइप प्रयोग गर्ने जस्ता गलत अभ्यासले आगलागीको जोखिम बढाउने बताउनुभयो ।
नगर प्रहरी तथा प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम र त्यसलाई तत्काल नियन्त्रण गर्ने उपायबारे प्रत्यक्ष प्रदर्शन गरेका थिए । कार्यक्रममा प्रशासकीय अधिकृत गणेश अधिकारीलगायत सहभागीले सिलिण्डरको सुरक्षित प्रयोग तथा आगलागी नियन्त्रणसम्बन्धी व्यावहारिक अभ्यास गरेका थिए ।
प्रजिअ घिमिरेले विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले घरका वयस्क सदस्यले आगलागी नियन्त्रण तथा सुरक्षासम्बन्धी आधारभूत सीप सिक्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले ग्यासको सुरक्षित भण्डारण, प्रयोग र व्यवस्थापनमा सबै सचेत हुनुपर्ने भन्दै घर, कार्यालय तथा व्यावसायिक प्रतिष्ठानमा अग्निनियन्त्रक सामग्री राख्न र नियमित रूपमा जाँच तथा रिफिल गर्न आग्रह गर्नुभयो ।
‘विपद् कहिले आउँछ भन्ने थाहा हुँदैन, त्यसैले पूर्वतयारी र आवश्यक सीप अत्यन्त महत्वपूर्ण हुन्छ,’ उहाँले भन्नुभयो, ‘आजको अभ्यासले आगलागी हुँदा कसरी आफूलाई सुरक्षित राख्ने र प्रारम्भिक रूपमा नियन्त्रण गर्ने भन्ने व्यावहारिक ज्ञान दिएको छ ।’
उहाँले सिकेको ज्ञान घर, कार्यालय र समुदायसम्म पुर्याउन सके मात्रै कार्यक्रमको वास्तविक उद्देश्य पूरा हुने बताउँदै सबैलाई सुरक्षित ग्यास प्रयोग र आगलागी न्यूनीकरणका उपाय अपनाउन आग्रह गर्नुभयो ।








