काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मत पारित गरेको छ।
खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले थापाको प्रतिवेदन पारित गरेको हाे । बैठक केही समयका लागि भोजनका लागि स्थगित गरिएको छ। खाना खाइसकेपछि बैठक पुनः सञ्चालन हुनेछ।
थापाको प्रतिवेदनमा कांग्रेसले आगामी चार वर्षमा अघि बढाउने राजनीतिक, वैचारिक, संगठनात्मक र आर्थिक कार्यदिशा समेटिएको छ। प्रतिवेदनमा विगतको राजनीतिक यात्राको आत्मसमीक्षासँगै सरकारका कामकारबाहीमा खबरदारी गर्ने नीति अघि सारिएको छ।
त्यस्तै, निर्वाचनअघि गठबन्धन नगर्ने, पार्टीको संगठनात्मक पुनर्संरचना गर्ने, निजी क्षेत्रसँग सहकार्य बढाउने तथा युवाको सहभागिता विस्तार गर्ने विषयलाई पनि प्रतिवेदनमा प्राथमिकता दिइएको छ।
‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालाई केन्द्रमा राख्दै कांग्रेसलाई थप सुदृढ र जनमुखी बनाउने दिशासमेत प्रतिवेदनमा प्रस्ताव गरिएको छ।
प्रतिवेदन अब आजैदेखि सुरु हुने कांग्रेसको बन्दसत्रमा प्रस्तुत गरिनेछ। बन्दसत्रमा प्रतिवेदनमाथि छलफल तथा आवश्यक सुझावपछि पार्टीको आगामी राजनीतिक र संगठनात्मक दिशाबारे निर्णय हुने बताइएको छ।








