काठमाडाैँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त नुवाकोट–रसुवा सडकखण्डको वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु भएको छ। नेपाली सेनाले आवश्यक सामग्री जुटाएर बुधबारदेखि पुल जडानको काम अघि बढाउने तयारी गरेको हो।
नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री धादिङको बैरेनी र बारामा मौज्दात रहेको स्थानबाट वेत्रावती ल्याउने क्रम जारी छ। सोमबारसम्म सबै सामग्री वेत्रावती पुर्याइने र बुधबारदेखि ५५ जनाको सैनिक टोलीले पुल जडान सुरु गर्ने उनले बताए।
सामान्य अवस्थामा बेलीब्रिज जडान गर्न तीन दिन लाग्ने भए पनि पुरानो पुलको संरचना होचो भएकाले त्यसमा थप दुई मिटर उचाइ बढाइएको छ। थपिएको संरचना सुक्न केही समय लाग्ने भएकाले दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनानी चौलागाईंले जानकारी दिए।
भोटेकोशीको बाढीले वेत्रावतीमा रहेको पुरानो पुलको संरचना पुरेपछि सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न लागिएको हो। निर्माण हुने पुल ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ। यसको भारवहन क्षमता ६० टन रहनेछ।
वेत्रावतीसम्म सडक पहुँच खुलेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी र निर्माण कार्य अघि बढाउन सहज भएको छ। गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले सडक पहुँच खुलाएपछि पुल निर्माणले गति लिएको हो। सडक पहुँच खुल्नुअघि नै नेपाली सेनाले वैकल्पिक मार्गबाट वेत्रावती पुगेर स्थलगत अध्ययन तथा पुलको संरचनामा उचाइ थप गर्ने काम सम्पन्न गरेको थियो।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार–वेत्रावती सडकखण्ड पनि शनिबारदेखि सञ्चालनमा आएको छ। दसैँअघि वेत्रावतीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
पुल सञ्चालनमा आएपछि बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्क पुनःस्थापित हुनेछ। सडक सम्पर्क प्रभावित हुँदा बाढीपछि रसुवाको दैनिक जनजीवनमा समेत कठिनाइ हुँदै आएको छ।








