काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’को सभापति चयन पर्सि हुने भएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिको सभापति निर्वाचन पर्सि दिउँसो २ बजेका लागि तोक्नुभएको हो ।
रसुवामा भदौ १० गते आएको विनाशकारी बाढी तथा त्यसबाट भएको जनधनको क्षतिको अध्ययन गर्न असोज ५ गते १५ सदस्यीय विशेष समिति गठन गरिएको थियो । समितिको कार्यअवधि तीन महिना तोकिएको छ भनेआवश्यकताअनुसार म्याद थप गर्न सकिने व्यवस्था गरिएको छ ।
समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका प्रभाव र जोखिमको अध्ययन गर्नेछ । यस क्रममा हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधार क्षेत्रमा भइरहेको परिवर्तनबारे उपलब्ध अध्ययन र तथ्यांकको समीक्षा गरिनेछ ।
त्यस्तै, भोटेकोशी–त्रिशूली विपद्को कारण र प्रभाव, खोज तथा उद्धार, राहत, पुनर्स्थापना र भविष्यमा विपद्को जोखिम न्यूनीकरणका उपायबारे अध्ययन गरी सरकारलाई सुझाव दिने कार्यादेश समितिलाई दिइएको छ ।
समितिले हिमाली क्षेत्रमा वैज्ञानिक अनुसन्धान तथा नियमित अनुगमनमा देखिएका कमजोरी पहिचान गरी त्यसलाई सुदृढ गर्ने उपायसमेत सिफारिस गर्नेछ ।
समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेशकुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य छन्।








