काठमाडौं । कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा चुनौती देखिएको छ । करिब ३५० जना क्षमता रहेको उक्त कारागारमा हाल ४२६ जना कैदीबन्दी रहेको कारागार प्रमुख मानबहादुर सारुले जानकारी दिनुभयो ।
कारागार व्यवस्थापन विभागले पछिल्लो समय ५० जना महिला कैदीबन्दीसमेत कपिलवस्तु कारागारमा थप गरेको छ । यसअघि पुरुष कैदीबन्दी मात्रै राखिँदै आएको कारागारमा महिला कैदीबन्दी थपिएपछि व्यवस्थापनमा थप चुनौती देखिएको छ ।
कारागार प्रमुख सारुका अनुसार ब्लक ‘ए’ मा १८० जनाको क्षमता रहेकामा २२७ जना र ब्लक ‘बी’ मा १७२ जनाको क्षमता रहेकामा १९९ जना कैदीबन्दी छन् । उहाँले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बसोबास, स्वास्थ्य, सरसफाइ तथा दैनिक व्यवस्थापनमा समस्या हुने गरेको बताउनुभयो ।
“उपलब्ध संरचनाको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी छ, त्यसैले व्यवस्थापनमा चुनौती छ”, उहाँले भन्नुभयो । विसं १९९५ मा स्थापना भएको कारागारको भौतिक संरचना पुरानो भएकाले कैदीबन्दीको सङ्ख्याअनुसार थप संरचना तथा आवश्यक पूर्वाधारको व्यवस्था गरिनुपर्ने आवश्यक रहेको प्रमुख सारुले बताउनुभयो ।








