१८ भाद्र २०८३, बिहीबार
,
Latest
रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा



अ+ अ-

काठमाडाैँ । त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीमाथिका विभिन्न पुलमा क्षति पुगेपछि अवरुद्ध भएको यातायात सञ्चालनका लागि वैकल्पिक सडकहरू निर्माण, मर्मत तथा स्तरोन्नति गरिएको छ ।

रसुवा र धादिङसमेत हेर्ने सडक डिभिजन कार्यालय नुवाकोटले बाढीबाट प्रभावित सडकखण्डमा वैकल्पिक मार्ग निर्माण तथा मर्मत गरी यातायात सञ्चालनमा ल्याएको हो । कार्यालयका अनुसार हाल चार वटा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।

पृथ्वी राजमार्ग–धादिङबेसी वैकल्पिक मार्ग अन्तर्गत मास्टारदेखि त्रिशूली पुल पार गर्दै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार, परेवाटार हुँदै धादिङबेसीसम्म करिब १५ किलोमिटर सडक सञ्चालनमा ल्याइएको छ । यसबाट धादिङको गल्छी र सिद्धलेक क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको छ ।

त्यस्तै, त्रिशूली नदीपारिको क्षेत्रलाई यातायात सञ्जालसँग जोड्न करिब ४० किलोमिटर लामो त्रिशूली पार क्षेत्र जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । गल्छी–त्रिशूली राजमार्गको त्रिशूली पुल पारिबाट नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म सडक सञ्चालन गरिएको हो । यसबाट धादिङको सिद्धलेक तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ क्षेत्र लाभान्वित भएका छन् ।

देवीघाटस्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पका रूपमा पनि करिब ३५ किलोमिटर सडक सञ्चालनमा ल्याइएको छ । पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार सडकमार्फत चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाइएको सडक डिभिजन नुवाकोटले जनाएको छ । उक्त मार्गबाट नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रलाई आवतजावतमा सहयोग पुगेको छ ।

यसैगरी, त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि रसुवा आवतजावतका लागि करिब १२ किलोमिटर नुवाकोट खण्डको वैकल्पिक सडक सञ्चालनयोग्य बनाइएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत ढिकुरे हुँदै फेदी, बेसीचोक, हिरामुनिटार, चोगते, बोरेभञ्ज्याङ, सानोखोला, धनस्वारा, भोर्ले, जिबजिबे र बोगटीटारसम्म सडक सञ्चालनमा ल्याइएको हो । रसुवा खण्डमा भने सडक मर्मतको काम जारी रहेको छ । यसबाट नुवाकोटको विदुर र सूर्यगढी क्षेत्रलाई समेत सहजता पुगेको छ ।

सडक डिभिजन नुवाकोटले आपतकालीन अवस्थामा विभिन्न उपकरण परिचालन गरी सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने तथा ग्राभेल राख्नेलगायतका काम निरन्तर गरिरहेको जनाएको छ ।

बाढीका कारण मुख्य राजमार्ग तथा पुलहरूमा क्षति पुगेपछि वैकल्पिक सडक सञ्चालनमा ल्याइएसँगै रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रबीच यातायात सम्पर्क पुनःस्थापित गर्न सहयोग पुगेको छ ।