१८ भाद्र २०८३, बिहीबार
,
Latest
रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बाढीपहिरोका कारण घरबारविहीन भएका नागरिकहरूको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै उनीहरूको पुनःस्थापनाका लागि विशेष पहल गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार रसुवा बाढीपीडितका लागि नेपाली काँग्रेसको विपद् व्यवस्थापन कोषमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका १२ वटा इकाइबाट संकलित रकम हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

विपद्पछिको अवस्थाबारे चर्चा गर्दै सभापति थापाले बाढीबाट भएको विनाश भूकम्पको तुलनामा झनै भयावह रहेको बताउनुभयो । बाढीले घर, जायजेथा र जीविकोपार्जनका आधारसमेत बगाएपछि पीडितहरू विद्यालय तथा सार्वजनिक भवनमा आश्रय लिन बाध्य भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले बाढीबाट बाटो, पुल र विद्यालयजस्ता भौतिक पूर्वाधारमा क्षति पुगेको भए पनि नागरिकको व्यक्तिगत सम्पत्तिमा भएको क्षति अझ अपूरणीय रहेको बताउनुभयो । विशेषगरी खोला किनारमा जीवनभरको कमाइ खर्चिएर घडेरी किनेर बसोबास गरेका साना बजार तथा बस्तीहरू पूर्ण रूपमा सखाप भएको उहाँको भनाइ छ ।

सभापति थापाले भन्नुभयो, ‘भूकम्पले घर भत्काए पनि जमिन बाँकी रहन्थ्यो, तर बाढीले त घरसँगै आश्रय दिने जमिन र गरिखाने खेतबारीसमेत बाँकी नराखी बगाएर लैजाने रहेछ । कतिपयको ८–९ रोपनी खेत त कतिपयको उठिबास हुने गरी घरजमिन सबै बाढीले बगाएको छ । यस्तो अवस्थामा पीडितहरू पूर्ण रूपमा रित्तिएका छन् ।’

भूकम्पका बेला घर निर्माणका लागि सहुलियत ऋणलगायतका व्यवस्था गर्न सकिने अवस्था रहे पनि अहिले बाढीपीडितका हकमा घर बनाउने जमिनसमेत नरहेकाले पुनःस्थापनाको चुनौती थप जटिल बनेको उहाँले बताउनुभयो ।

बाढीपीडितको तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै थापाले प्रभावित नागरिकलाई पुनः सामान्य जीवनमा फर्काउन विशेष योजना र पहल आवश्यक रहेको बताउनुभयो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का १२ वटा इकाइबाट संकलन गरिएको रकम रसुवा लगायतका बाढीपहिरो प्रभावितको राहत तथा सहयोगका लागि नेपाली काँग्रेसको केन्द्रीय कोषमार्फत परिचालन गरिने बताइएको छ ।