२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–तालिबान वार्ता सङ्कटमा



अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका छन् ।

शनिबार ट्वीट गर्दै उनले अफगानी विद्रोही समूह तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पको शनिबारको उक्त ट्वीट आश्चर्यजनक मानिएको छ । किनभने राष्ट्रपति स्वयम्ले अफगानी विद्रोही र अरु नेताहरुलाई राष्ट्रपति निवासको भोजमा निमन्त्रणा दिएका थिए ।

आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भिषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो ।अमेरिकामा आक्रमणलगत्तै अल–कायदाका नेता ओशामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिबानी सरकारलाई अपदस्थ गरेको थियो ।

अल–कायदा र तालिबान विरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ ।वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ । हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।

अफगान मामिलासम्बन्धी अमेरिकी विशेषदूत जाल्मे खलिलजादले हालै मात्र तालिबान समूहसँगको वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए । तर राष्ट्रपति ट्रम्पमाथि अफगान सरकार र केही अमेरिकी सांसदहरुले अमेरिकी सैनिक तत्काल फिर्ता गर्न नहुने भन्दै दबाब दिइरहेका थिए ।

ट्रम्पले ट्वीटमा भनेका छन्, “मुख्य तालिबान नेताहरु र अफगानिस्तानका राष्ट्रपतिसँग अलग्गै आइतबार क्याम्प डेभिडमा गोप्य भेटघाटको समय मिलाइएको थियो, र यसलाई गोप्य राखिएको थियो ।” “उनीहरु संयुक्तराज्य अमेरिका आजै राति आउँदै थिए । दुर्भाग्यवस, उनीहरुले काबुलमा आक्रमण गरे जसका कारण एक जना बहादुर अमेरिकी सैनिक र अरु ११ जनाको मृत्यु भयो । मैले तत्कालै बैठक रद्द गरें र वार्ता प्रक्रिया रोकेको छु,” ट्रम्पले लेखेका छन् ।

बिहीबार, तालिबानले काबुलको अमेरिकी राजदूतावास नजिकै गरेको कार बम बिस्फोटमा एक जना अमेरिकी सैनिक, एक जना रोमानियाली सैनिक र १० जना सर्वसाधारणको ज्यान गएको थियो । अमेरिका–तालिबान वार्ता जारी रहेकै अवधिमा पछिल्ला केही दिनदेखि तालिबानले देशव्यापी रुपमा शृंखलाबद्ध बम बिस्फोट गराइरहेको छ ।

अमेरिका–तालिबानबीचको वार्ता समाप्त भएको हो वा स्थगित मात्र भएको हो भन्ने स्पष्ट भइसकेको छैन । राष्ट्रपति ट्रम्पले ट्वीटबाट वार्ता भङ्ग भएको जनाए पनि अमेरिकी विशेषदूत खलिलजादले बिहीबार र शुक्रबार कतारको दोहामा तालिबान समूहका नेताहरुसँग परामर्श गर्ने कार्यक्रम छ । अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसले उक्त विषयमा स्पष्ट गरेका छैनन् । यस बारेमा अफगान सरकारले पनि केही बताएको छैन ।

तालिबानका एक प्रवक्ता जबिहुल्लाह मुजाहिदले क्याम्प डेभिड बैठकका बारेमा ट्रम्पको भनाई बारे आफूलाई स्पष्ट भइनसकेको बताए । उनले अमेरिकी भनाई बारेमा अहिल्यै प्रतिक्रिया नदिने बताए । उनले भने,’यो राजनीतिक मामिला हो । हामी हाम्रा नेताहरुको प्रतिक्रियाको पर्खाईमा छौं ।’