२२ भाद्र २०८३, सोमबार
,
Latest
कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ त्रिशूली–३ बीको सुरुङमा हराइरहेकाको खोजी गर्न माग गर्दै माइतीघरमा धर्ना तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि



अ+ अ-

काठमाडौं । पाल्पाको २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा यहाँ डेङ्गु सङ्क्रमणको अवस्था उतारचढावपूर्ण देखिए पनि सङ्क्रमण सङ्ख्या उल्लेख्य छ । आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा पाँच ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।

पछिल्लो दुई महिनामै २५५ जनामा सङ्क्रमण पुष्टि हुनुले यस वर्ष पनि पाल्पामा डेङ्गुको जोखिम उच्च रहेको सङ्केत गरेको छ । वर्षायाममा पानी जम्ने स्थान बढेसँगै डेङ्गु फैलाउने एडिस जातको लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले सङ्क्रमण जोखिम बढ्ने स्वास्थ्यकर्मी बताउँछन् ।

ल्याब टेक्निसियन अधिकृत भट्टराईले जलवायु परिवर्तनका कारण वातावरणीय अवस्थामा आएको परिवर्तन तथा डेङ्गु परीक्षणको दायरा बढेकाले सङ्क्रमण सङ्ख्या बढी देखिएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय डेङ्गु परीक्षण सहज बन्दै गएपछि सङ्क्रमण पहिचान हुने क्रमसमेत बढेको छ । पाल्पाको युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका अस्पतालमा आएका बिरामीमा डेङुगु सङ्क्रमण देखिएको छ ।

कतिपय निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमासमेत डेङ्गुको परीक्षण हुन्छ । डेङ्गु सार्ने एडिज जातको लामखुट्टेले घर वरिपरि रहेका टायर, गमला, टिनका डब्बा तथा पानी जम्न सक्ने साना–ठूला भाँडाकुँडामा लामखुट्टेले फूल पार्ने गर्दछ । फूलबाट लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टे बन्ने भएकाले लार्भाकै अवस्थामा खोजी गरी नष्ट गर्न आवश्यक रहेको बताइन्छ ।

स्वास्थ्य कार्यालयले डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । कार्यालयले सरोकारवाला निकायसँग डेङ्गु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा पैरवी तथा अभिमुखीकरण गरेको छ । कार्यक्रममा वर्षायामसँगै लामखुट्टेको वृद्धि हुने र डेङ्गु रोगको जोखिमसमेत बढ्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि घरआँगनदेखि सार्वजनिक स्थानसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले लामखुट्टे नियन्त्रण गर्न सके डेङ्गुलगायतका विभिन्न रोगबाट बच्न सकिने भन्दै वातावरणीय सरसफाइमा सबैले ध्यान दिन आग्रह गर्नुभयो ।

लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न उहाँले सुझाव दिनुभयो । त्यस्तै घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फुलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न पनि प्रमुख ढकालले सबैलाई अनुरोध गर्नुभयो ।