१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन: सरकारले आयोगलाई २५ करोड रूपैयाँ दियो



अ+ अ-

काठमाडौं । सरकारले निर्वाचन आयोगलाई २५ करोड रूपैयाँ उपलब्ध गराएको छ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक पर्ने खर्च माग भएअनुसार सरकारबाट २५ करोड रूपैयाँ निकासा भइसकेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए।

‘आयोगले ३९ करोड रूपैयाँ मागेको थियो,’ खरेलले सेतोपाटीसँग भने, ‘माग गरेअनुसार खर्च प्राप्त नहुँदैमा उपनिर्वाचनलाई खासै फरक पर्दैन। खर्च अभाव हुने देखियो भने आयोगले फेरि सरकारसँग माग्न सक्छ।’

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी निर्वाचित भएको कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा क्षेत्रसहित तीन प्रदेश सभा र स्थानीय तह गरी ५० स्थानमा उपनिर्वाचन हुँदैछ। त्यस्तै, प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा मंसिरमा चुनाव हुन लागेको आयोगले जानकारी दिएको छ ।स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि मंसिर १४ मा चुनाव हुँदैछ ।

४७ स्थानमा उपनिर्वाचन

आयोगले विभिन्न कारणले रित्त हुने पुगेका ४७ स्थानमा उपनिर्वाचन गर्न लागेको हो । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान जनप्रतिनिधिविहीन छ । ३८ वडामा पनि जनप्रतिनिधि छैनन् ।

गत १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन बनेको हो ।

भक्तपुर–१ ‘ख’ बाट निर्वाचित सांसद् हरिहरण लामिछानेको निधनपछि तीन नम्बर प्रदेशसभामा पनि एक स्थान रिक्त छ । ५१ वर्षीय सांसद् लामिछानेको मस्तिश्कघातका बिरामी थिए ।

यस्तै, प्रदेश पाँचका प्रदेशसभा सदस्य उत्तरकुमार ओली कार दुर्घटनामा परेका थिए । दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित ओलीको उपचारको क्रममा निधन थियो । गण्डकी प्रदेशका सांसद् टेकबहादुर घर्तीको गत मंसिरमा नयाँ दिल्लीमा निधन भएको थियो । बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित घर्ती जण्डिसका बिरामी थिए ।

स्थानीय तहमा एक मेयर र दुई गाउँपालिका अध्यक्षको निधन भइसकेको छ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको गत साउनमा निमोनियाबाट निधन भएको थियो ।

भाषण गर्दागर्दै बेहोस् भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको होस त्यसपछि खुलेन । संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालको सडक दुर्घटनामा परेर निधन भएको थियो ।

६ महिना कार्यकाल बाँकी हुँदै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ । स्थानीय तहमा भने एक वर्षभन्दा कम अवधि बाँकी छ भने उपनिर्वाचन हुँदैन ।