९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो



oplus_2
अ+ अ-

भक्तपुर । गाईजात्रा पर्व नजिकिएसँगै भक्तपुरमा ताहासा निर्माणका लागि प्रयोग हुने बाँसको व्यापार सुरु भएको छ । गाईजात्रामा दिवङ्गत आफन्तको सम्झनामा निकालिने ताहासा बनाउन बाँस अनिवार्य हुने भएकाले पर्वको करिब एक साताअघिदेखि भक्तपुरको पाँचतले मन्दिर परिसरमा बाँस बिक्री गर्ने व्यापारीको चहलपहल बढेको हो ।

व्यापारीहरूले पाँचतले मन्दिर परिसरमा प्रतिगोटा करिब रु पाँच सयका दरले बाँस बिक्री गरिरहेका छन् । यस वर्ष भदौ १३ गते भक्तपुरमा गाईजात्रा मनाइँदैछ । एउटा ताहासा बनाउन आवश्यक चारवटा बाँसको मूल्य करिब रु दुई हजार पाँच सयसम्म पर्ने व्यापारीहरू बताउँछन् ।

सूर्यविनायक नगरपालिका–८, आशापुरीबाट बाँस बिक्रीका लागि भक्तपुर ल्याउने गरिएको छ । हरेक वर्ष गाईजात्राको करिब एक साताअघिदेखि बाँस बिक्री गर्दै आएका जयराम तामाङले यस वर्ष पनि पाँचतले मन्दिर अगाडि बाँसको व्यापार सुरु गरेको बताउनुभयो ।

नगरपालिकाले दिउँसो व्यापार गर्न नदिने भएकाले बिहान १० बजेसम्म मात्र बाँस बिक्री गर्न पाउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । बाँसको आकार र गुणस्तरअनुसार मूल्य फरक पर्ने उहाँको भनाइ छ ।

गाईजात्राका लागि तयार गरिने ताहासा बनाउन सामान्यतया १५ देखि २० फिट लामो चारवटा हरियो बाँस प्रयोग गरिन्छ । बाँसबाट तयार पारिएको ताहासाको शिरमा गाईको प्रतीक राखेर जात्रा निकाल्ने परम्परा छ । वर्षभरिमा दिवङ्गत भएका आफन्तको सम्झना तथा सम्मानमा परिवारले घरबाट ताहासा निकालेर नगर परिक्रमा गराउने चलन भक्तपुरमा पुस्तौँदेखि रहँदै आएको छ ।

ताहासा महिला र पुरुषका लागि फरक ढङ्गले सजाउने गरिन्छ । महिलाको ताहासामा हाकुपटासी र पुरुषको ताहासामा सेतो कपडा प्रयोग गरिन्छ । त्यसमा परालका सिङ, पलेस्वाँ लप्ते, चोबो, मयुरका प्वाँख तथा विभिन्न रङ्गीचङ्गी फूलले सजावट गरिन्छ । टाउकाको दुवै छेउमा सिङसँगै पतचा राखिन्छ भने द्योःगाचा अष्टमातृकाको प्रतीकका रूपमा खास्टो र दुईवटा लामो पटुका राखी छाता ओढाउने परम्परा छ ।

भक्तपुरमा गाईजात्रा पर्वका लागि ताहासा बनाउने परम्परा निकै पुरानो मानिन्छ । पर्व नजिकिएसँगै ताहासा निर्माण, सजावट तथा जात्राका अन्य तयारीले भक्तपुरका टोल तथा बस्तीमा चहलपहल बढेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाका दिन मनाइने गाईजात्रा जनैपूर्णिमाको भोलिपल्ट पर्ने गर्छ । भक्तपुरसँगै काठमाडौँ, ललितपुरलगायत नेपाली भाषी समुदायको बसोबास रहेका विभिन्न स्थानमा गाईजात्रा धुमधामका साथ मनाइन्छ ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यस दिन वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको सम्झनामा गाईको प्रतीक बनाई नगर परिक्रमा गराउने गरिन्छ । भाद्र शुक्ल प्रतिपदाका दिन यमलोकको ढोका खुला हुने र गाईको सहायताबाट मृतकको आत्माले यमलोकमा प्रवेश पाउने जनविश्वास रहँदै आएको छ ।




भर्खरै