३ भाद्र २०८३, बुधबार
,
Latest
वागमतीमा एमालेका किरण थापालाई राप्रपाको समर्थन छैन : अध्यक्ष लिङ्देन सरकारको कार्यशैली र बजेटप्रति कांग्रेस सांसद केसीको आपत्ति विपद् व्यवस्थापन र सुशासनको सवालमा सरकार असफल भएको सांसद शाहको आरोप मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा



अ+ अ-

 

काठमाडौँ । काठमाडौँको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ। परम्परागत नेवारी वास्तुशैलीलाई संरक्षण गर्दै मन्दिर परिसरका मुख्य मन्दिरसहित पाटी, सत्तल तथा अन्य संरचनाको पुनर्निर्माण भइरहेको छ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण विसं २०८१ असारदेखि सुरु गरिएको हो। काठमाडौँ महानगरपालिकाका अनुसार अहिले मन्दिरसँगै आसपासका पाटी तथा सत्तलको पुनर्निर्माण तथा जीर्णोद्धारको काम भइरहेको छ।

पुनर्निर्माणका क्रममा परिसरमा रहेका पुराना संरचना, शिल्प तथा मौलिक वास्तुशैलीको अभिलेखन गर्ने जिम्मेवारी पुरातत्त्व विभागले लिएको छ। मन्दिर परिसरको पुनर्निर्माणको जिम्मेवारी तुल्सी–अम्बुजा जेभीले पाएको छ। रु ३४ करोड ८० लाख ७१ हजारको लागतमा निर्माण भइरहेको परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

परियोजनाअन्तर्गत मुख्य मन्दिरका साथै पश्चिम, उत्तर र दक्षिणतर्फ रहेका पाटी तथा सत्तललगायत संरचनाको पुनर्निर्माण भइरहेको छ। काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका सिभिल इन्जिनियर रवीन्द्र रिजालका अनुसार पुनर्निर्माणमा काठमा कुँदिएका बुट्टेदार ढोका, झ्याल तथा थाम प्रयोग गरिनेछ। छानोमा भने परम्परागत झिँगटी राखिनेछ।

उत्तरपट्टि भृकुटीमण्डप क्षेत्रतर्फ दुईवटा ब्लक आपसमा जोडिनेछन् भने दक्षिणतर्फ तीनवटा ब्लक निर्माण हुनेछन्। पुनर्निर्माणपछि सबै भवनको कुल क्षेत्रफल करिब ३९ हजार वर्गफिट हुने महानगरपालिकाले जनाएको छ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भद्रकाली मन्दिर परिसरको पुनर्निर्माणलाई महानगरपालिकाको पूर्वाधार विकासको काम मात्र नभई सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र निरन्तरतासँग जोडिएको महत्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताउनुभएको छ।

पुनर्निर्माण कार्यलाई व्यवस्थित र सहजीकरण गर्न सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको संयोजकत्वमा मन्दिर पुनर्निर्माण सहजीकरण समिति गठन गरिएको छ। समितिमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी विकास आयोजनाका सदस्य बाबुराम भट्टराई, लुमधी भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, पूर्वअध्यक्ष गौतम डङ्गोल तथा पुरातत्त्व विभाग र गुठी संस्थानका प्रतिनिधि सदस्य रहेका छन्।

महानगरपालिकाका अनुसार समितिको सदस्यसचिवमा सम्पदा तथा पर्यटन विभागकी विभागीय प्रमुख कुमारी राई रहनुभएको छ।

परम्परागत नेवारी वास्तुकला, काठमा कुँदिएका कलात्मक बुट्टा तथा मौलिक निर्माण शैलीलाई प्राथमिकतामा राखेर भइरहेको पुनर्निर्माण सम्पन्न भएपछि भद्रकाली मन्दिर परिसरको मौलिक स्वरूप जोगिनुका साथै काठमाडौँको महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।