३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा



अ+ अ-

 

काठमाडौँ । काठमाडौँको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ। परम्परागत नेवारी वास्तुशैलीलाई संरक्षण गर्दै मन्दिर परिसरका मुख्य मन्दिरसहित पाटी, सत्तल तथा अन्य संरचनाको पुनर्निर्माण भइरहेको छ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण विसं २०८१ असारदेखि सुरु गरिएको हो। काठमाडौँ महानगरपालिकाका अनुसार अहिले मन्दिरसँगै आसपासका पाटी तथा सत्तलको पुनर्निर्माण तथा जीर्णोद्धारको काम भइरहेको छ।

पुनर्निर्माणका क्रममा परिसरमा रहेका पुराना संरचना, शिल्प तथा मौलिक वास्तुशैलीको अभिलेखन गर्ने जिम्मेवारी पुरातत्त्व विभागले लिएको छ। मन्दिर परिसरको पुनर्निर्माणको जिम्मेवारी तुल्सी–अम्बुजा जेभीले पाएको छ। रु ३४ करोड ८० लाख ७१ हजारको लागतमा निर्माण भइरहेको परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

परियोजनाअन्तर्गत मुख्य मन्दिरका साथै पश्चिम, उत्तर र दक्षिणतर्फ रहेका पाटी तथा सत्तललगायत संरचनाको पुनर्निर्माण भइरहेको छ। काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका सिभिल इन्जिनियर रवीन्द्र रिजालका अनुसार पुनर्निर्माणमा काठमा कुँदिएका बुट्टेदार ढोका, झ्याल तथा थाम प्रयोग गरिनेछ। छानोमा भने परम्परागत झिँगटी राखिनेछ।

उत्तरपट्टि भृकुटीमण्डप क्षेत्रतर्फ दुईवटा ब्लक आपसमा जोडिनेछन् भने दक्षिणतर्फ तीनवटा ब्लक निर्माण हुनेछन्। पुनर्निर्माणपछि सबै भवनको कुल क्षेत्रफल करिब ३९ हजार वर्गफिट हुने महानगरपालिकाले जनाएको छ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भद्रकाली मन्दिर परिसरको पुनर्निर्माणलाई महानगरपालिकाको पूर्वाधार विकासको काम मात्र नभई सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र निरन्तरतासँग जोडिएको महत्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताउनुभएको छ।

पुनर्निर्माण कार्यलाई व्यवस्थित र सहजीकरण गर्न सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको संयोजकत्वमा मन्दिर पुनर्निर्माण सहजीकरण समिति गठन गरिएको छ। समितिमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी विकास आयोजनाका सदस्य बाबुराम भट्टराई, लुमधी भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, पूर्वअध्यक्ष गौतम डङ्गोल तथा पुरातत्त्व विभाग र गुठी संस्थानका प्रतिनिधि सदस्य रहेका छन्।

महानगरपालिकाका अनुसार समितिको सदस्यसचिवमा सम्पदा तथा पर्यटन विभागकी विभागीय प्रमुख कुमारी राई रहनुभएको छ।

परम्परागत नेवारी वास्तुकला, काठमा कुँदिएका कलात्मक बुट्टा तथा मौलिक निर्माण शैलीलाई प्राथमिकतामा राखेर भइरहेको पुनर्निर्माण सम्पन्न भएपछि भद्रकाली मन्दिर परिसरको मौलिक स्वरूप जोगिनुका साथै काठमाडौँको महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।