२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स

भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स
अ अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति भएको बताउनुभएको छ ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीनहरुको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहनुभएका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो । त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विपत्तिको प्रकृति र उद्धारमा देखिएका चुनौती असाधारण रहेको बताउनुभयो ।

‘यस किसिमको विपत्ति विश्वमा विरलै भएको मेरो अनुभव छ । सम्भवतः यस्तो घटना पहिलो नै होला,’ उहाँले भन्नुभयो । डिक्सका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्रलाई प्रभावित बनाएको र कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अन्य विकल्प नै नरहेको अवस्था थियो । अत्यन्तै साँघुरा गल्छी, बिग्रिएका सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने भौगोलिक अवस्थाका कारण उद्धार टोलीले ठूलो जोखिम मोलेर काम गरिरहेको उहाँले बताउनुभयो ।
‘हेलिकप्टर पनि ल्यान्ड गर्न नसक्ने अवस्थाबाट उद्धार गर्नुपर्ने स्थिति थियो । गल्छीहरू अत्यन्तै साँघुरा छन्। उद्धारकर्ताका लागि समेत यो अत्यन्त कठिन भूगोल हो,’ उहाँले भन्नुभयो ।

उहाँले यस्तो विपत्तिका बेला कसैलाई दोष दिने समय नभएको बताउँदै नेपाली पक्षले उद्धारमा गरेको समन्वयको प्रशंसा गर्नुभयो । नेपाल सरकार र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उद्धार कार्यमा अत्यन्तै समन्वयकारी भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो ।

‘अहिले कसैले कसैलाई दोष दिने अवस्था छैन, त्यो बेला पनि होइन । यस किसिमको विपत्ति आउनुमा मैले नेपालको कुनै दोष देख्दिनँ ।’ उहाँले भन्नुभयो।

सतहमा ठूलो विनाश देखिए पनि त्यसका आधारमा भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न नहुने उहाँले बताउनुभयो । जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्ने उहाँको धारणा छ ।

उहाँले नेपालका जलविद्युत् आयोजनाका इन्जिनियरिङ डिजाइन तथा सुरुङ संरचनाको अध्ययन गरिरहेको र विपत्तिपछि सुरुवाती चरणमै उपलब्ध डिजाइन, नक्सा तथा अन्य प्राविधिक विवरणको अध्ययन गरेर उद्धारको सम्भावित बाटो पहिचान गर्न थालेको बताउनुभयो ।

‘मैले जलविद्युत् आयोजना र सुरुङहरूको इन्जिनियरिङ डिजाइन अध्ययन गरेको छु । विपत्ति आएपछि सुरुमा मैले उपलब्ध डिजाइन र प्राविधिक तथ्यांक हेरेँ,’ उहाँले भन्नुभयो ।

डिक्सका अनुसार सामान्य अवस्थामा सुरुङभित्र हुने दुर्घटना वा उद्धारका विषय सार्वजनिक चर्चामा कमै आउने गर्छन् । तर सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना कामदारलाई १७ दिनपछि सकुशल उद्धार गरिएको घटनापछि उहाँ अन्तर्राष्ट्रिय रूपमा चर्चामा आउनुभएको हो ।

सिल्क्यारा उद्धारमा महत्वपूर्ण प्राविधिक भूमिका निर्वाह गर्नुभएका डिक्सले त्यसअघि पनि भूमिगत संरचना तथा टनेल सुरक्षासम्बन्धी क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएको थियो ।

नेपालमा भइरहेको उद्धार प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता रहेको उल्लेख गर्दै डिक्सले विपत्तिका कारण पीडित नेपालीलाई आफूहरू एक्लो नभएको सन्देश दिन चाहेको बताउनुभयो ।

‘मेरो आफ्नै गाउँमा रहेको स्थानीय चर्चमा नेपालका लागि मात्र प्रार्थना सभा भइरहेका छन् । मेरो संस्था इन्टरनेसनल टनेलिङ एसोसिएसनले पनि सम्मान र सहयोग प्रकट गरिरहेको छ । अहिले पूरै विश्वको हृदय तपाईंसँगै दुखेको छ,’ उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो–‘तपाईंहरूले केही गलत गर्नुभएको छैन भन्ने कुरा संसारले बुझेको छ । यो प्राकृतिक रूपमा घटेको विपत्ति हो । नेपाली जनतालाई मेरो सन्देश छ, तपाईंहरू एक्लो हुनुहुन्न । हामी यहाँ तपाईंहरूलाई सहयोग गर्न आएका छौँ।’

डिक्सले बाढीले जलविद्युत् आयोजनाका संरचनामा पु¥याएको क्षति केवल भौतिक पूर्वाधारको क्षति नभएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार जलविद्युत् नेपालको राष्ट्रिय विकास, ऊर्जा सुरक्षा र सार्वभौमिकतासँग जोडिएको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रमा भएको विनाशलाई व्यापक दृष्टिले हेर्नुपर्छ ।

‘यो केवल मानवीय त्रासदी होइन, बौद्धिक र राष्ट्रिय क्षतिको विषय पनि हो । जलविद्युत् नेपालको राष्ट्रिय पहिचान, सार्वभौमिकता र स्वतन्त्रताका लागि धेरै महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो ।
उहाँले भविष्यमा यस्ता असाधारण विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि उद्धार तथा सुरक्षा प्रणालीलाई आयोजनाको डिजाइनकै चरणदेखि समेट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

डिक्सले हालको विपत्तिका आधारमा जलविद्युत् आयोजनाको डिजाइनलाई दोष दिनु उचित नहुने स्पष्ट पार्नुभयो । उहाँका अनुसार यसअघि विश्वमै नदेखिएको प्रकृतिको घटना भएकाले विगतमा उपलब्ध ज्ञान र जोखिम मूल्यांकनका आधारमा तयार गरिएका डिजाइनलाई अहिलेको घटनाका आधारमा मात्र गलत भन्न मिल्दैन।

‘यदि कसैले यी जलविद्युत् आयोजनाको डिजाइन गलत थियो भन्न चाहन्छ भने त्यो पूर्ण रूपमा गलत निष्कर्ष हो। विश्वको इतिहासमा हामीले यस्तो घटना देखेका थिएनौँ। दुई हप्ताअघिसम्म हामीलाई जे थाहा थियो, त्यसका आधारमा त्यहाँका डिजाइन उपयुक्त थिए । अहिले परिस्थिति बदलिएको छ,’ उहाँले भन्नुभयो।

डिक्सका अनुसार अहिलेको उद्धार अभियान सामान्य सुरुङ उद्धारभन्दा निकै फरक छ। उद्धारका लागि आवश्यक भारी उपकरण र दक्ष जनशक्ति घटनास्थलसम्म पु¥याउनै ठूलो चुनौती रहेको उहाँले बताउनुभयो ।

बाढीले सडक र पुलहरूमा ठूलो क्षति पु¥याएका कारण उपकरण ढुवानी गर्न नसकिएको र हेलिकप्टरको क्षमताले पनि ठूला मेसिन घटनास्थलसम्म पु¥याउन नसकिने अवस्था रहेको उहाँको भनाइ छ ।

‘हामीलाई कुन उपकरण चाहिन्छ भन्ने थाहा छ, तर ती उपकरण हेलिकप्टरभित्र अटाउँदैनन्। त्यसैले अहिले सडक बनाउने काम भइरहेको छ। सडक पुगेपछि मात्रै ठूला मेसिन लैजान सकिन्छ,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार केही भारी उपकरणको तौल करिब पाँच टनसम्म रहेको छ । तत्काल उपकरण लैजान नसकिएको अवस्थामा अर्को किनारासम्म पहुँच पु¥याउन केबल पुल वा रोपवेको विकल्पसमेत खोजिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले उद्धारमा संलग्न सबै व्यक्ति अत्यन्तै तनावपूर्ण अवस्थामा पनि दिनरात खटिरहेको बताउनुभयो । आफूले माग गरेका प्राविधिक सहयोग तथा समन्वयका विषयमा नेपाली पक्षबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उहाँको भनाइ छ ।

डिक्सले वर्तमान अवस्थालाई आफूले यसअघि कहिल्यै नदेखेको विपत्तिका रूपमा वर्णन गर्नुभयो । ‘मैले पहिले कहिल्यै यस्तो देखेको थिइनँ,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार सडक, पुल, सञ्चार र पहुँचका पूर्वाधार नै ध्वस्त भएको अवस्थामा उद्धारका लागि आवश्यक जनशक्ति, उपकरण र मेसिन घटनास्थलसम्म पु¥याउनु आफैंमा ठूलो चुनौती बनेको छ ।

‘हजारौँ मानिस काम गर्न तयार भए पनि उनीहरूलाई घटनास्थलसम्म पु¥याउन सकिँदैन। त्यहाँ पुगे पनि बस्ने ठाउँ छैन। उपकरण लैजान पनि समस्या छ । त्यसैले यो सामान्य उद्धार अभियान होइन,’उहाँले भन्नुभयो । डिक्सले कठिन भौगोलिक अवस्था, निरन्तर जोखिम र सीमित पहुँचका बाबजुद नेपाली तथा अन्तर्राष्ट्रिय टोलीले गरिरहेको प्रयासलाई महत्वपूर्ण भएको बताउँदै सम्भावित जीवित व्यक्तिको खोजीलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।