२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न माग गर्नुभएको छ ।

जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार, घाइते र प्रभावितप्रति समवेदना व्यक्त गर्नुभएको छ।

उहाँले जेन–जी आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न भएको बताउनु भयो । तर युवाको आवाजलाई सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको र त्यसपछि संदिग्ध तत्वहरूले आन्दोलनलाई हिंसा तथा विध्वंसतर्फ मोडेको उहाँको आरोप छ।

प्रचण्डले भदौ २३ गतेको जायज युवा असन्तुष्टि र भदौ २४ गते भएको हिंसा, लुटपाट तथा विध्वंसलाई एउटै प्रकृतिको घटनाका रूपमा हेर्न नहुने बताउनु भयो । उहाँका अनुसार यी दुई पक्षलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि अन्याय हुनेछ।

उहाँले सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय र राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’का रूपमा चित्रित गर्नुभएको छ।

प्रचण्डले घटनाबारे ‘को दोषी थियो, आन्दोलनमाथि दमन किन र कसरी भयो, कसले आन्दोलन भड्कायो, कसले हिंसा र विध्वंस मच्चायो र त्यसबाट लाभ कसले उठायो’ भन्ने प्रश्नको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताउनु भएको छ ।  दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने उहाँको माग छ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रतिवेदनलाई दराजमा थन्क्याउने नभई त्यसमा औँल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताउनु भयो ।

प्रचण्डले जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र समान अवसरका सवाल अझै सम्बोधन हुन नसकेको दाबी गर्नुभएको छ।

महँगी, कमजोर अर्थतन्त्र, बेरोजगारी, बढ्दो वैदेशिक पलायन, सार्वजनिक ऋण र करको बोझलगायत विषयले नागरिकमा पुनः निराशा बढाएको उहाँको भनाइ छ।

संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै परिवर्तन गर्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र सार्वभौमसत्ताजस्ता उपलब्धिको रक्षा गर्नुपर्ने बताउनु भयो ।

उहाँले युवाको आवाज दबाएर नभई सुनेर र सम्बोधन गरेर लोकतन्त्र बलियो बनाउनुपर्ने उल्लेख गर्दै लोकतन्त्रका कमजोरीको समाधान लोकतन्त्र समाप्त गर्नु नभई त्यसको ‘सर्भिसिङ’ गर्नु भएको बताउनु भयो।

प्रचण्डले पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरण अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै संविधान र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपालीलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ ।