नुवाकोट । सभामुख डीपी अर्यालले रसुवा बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी लिनुभएको छ।
सभामुख अर्यालले विदुर नगरपालिका–५ स्थित प्रादेशिक आयुर्वेदिक अस्पताल तथा चन्द्रज्योति माध्यमिक विद्यालयमा सञ्चालनमा रहेको होल्डिङ सेन्टर पुगेर त्यहाँ आश्रय लिइरहेका बाढी प्रभावित नागरिकसँग भेटघाट गर्नुभएको थियो। उहाँले प्रभावित नागरिकको अवस्था, आवश्यकतासहित राहत तथा पुनर्स्थापनाका विषयमा जानकारी लिनुभयो।
त्यसैगरी, उहाँले विदुर नगरपालिका–१ स्थित इलम प्रशिक्षण केन्द्रमा रहेका प्रभावित नागरिकसँग भेटघाट तथा छलफल गर्नुभयो। छलफलका क्रममा प्रभावित नागरिकले उद्धार, राहत, आवास तथा दैनिक आवश्यकतासम्बन्धी समस्याबारे सभामुख अर्याललाई जानकारी गराएका थिए।
निरीक्षणका क्रममा सभामुख अर्यालले विदुर नगरपालिका–५ स्थित देवीघाट तथा विदुर–१ स्थित इन्द्रेणीचौरलगायत बाढी प्रभावित क्षेत्रको अवस्थासमेत अवलोकन गर्नुभयो।

उहाँले श्री नं. १ सैन्य तालिम केन्द्र तथा विदुर नगरपालिका कार्यालयका पदाधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत वितरण, पुनर्स्थापना तथा प्रभावित नागरिकको व्यवस्थापनबारे जानकारी लिनुभएको थियो।
सभामुख अर्यालले विपद्बाट प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउँदै पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।









