काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने भन्दै नेतृत्वको कार्यशैलीमाथी प्रश्न उठाउनु भएको छ ।
सामाजिक संञ्जालमा लैख्दै उहाँले जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित स्मृति कार्यक्रमलाई लिएर आपत्ति जनाउनु भएको छ । नयाँ बानेश्वरस्थित पुरानो संसद भवनअगाडि गरिएको कार्यक्रमले सहिद र घाइतेहरूको अपमान गरेको उहाँँको बुझाई छ ।
उहाँले लेख्नु भएको छ ‘मलाई कताकता लाग्यो हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ । मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो । त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन् ।’
उहाँले लेख्नुभएको छ-
Gen Z आन्दोलनको एक वर्ष पुग्यो भन्दैगर्दा मन यस्सै बिथोलिएको थियो। तर BICC अगाडि Gen Z सहिदहरूको सम्झनामा गरिएको कार्यक्रम देखेपछि म अवाक छु । मलाइ कताकता लाग्यो हामीले Gen Z सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ।
मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन ,जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन् तिनले के बुझे मलाइ थाहा छैन ।
जसले Gen Z को आवाजलाई अगाडि बढाए, जसले सरकारका काममाथि निरन्तर प्रश्न उठाए, उनीहरूले आज यो कार्यक्रम यसरी हुनु हुँदैन भनेर हस्तक्षेप गर्न किन सकेनन्?सायद नेपाली समाजले पछिल्लो एक वर्षमा गुमाएको सबैभन्दा ठूलो कुरा नै अरुले के महसुस गरिरहेका छन भन्ने कुराको महसुस गर्नै नसक्ने , गर्नै नमान्ने , गर्नै नखोज्ने ।
पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको ? हामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ।
अहिले हामीमाथि प्रश्न गर्नेहरुलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौं ? त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भनेर सडकमा गएका थियौं हामी । के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौं ?
सुध्रिनु अरुले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान शहीदहरुको बलिदान ?