२३ भाद्र २०८३, मंगलवार
,
Latest
देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा



अ+ अ-

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गर्नुभएको छ ।

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वयसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको स्थलगत अनुगमन गर्नुभएको हो ।

यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका क्रममा मन्त्रीद्वयले विद्यालय भवन, शैक्षिक पूर्वाधार तथा विद्यार्थीको शैक्षिक अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँहरूले प्रभावित क्षेत्रमा स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा सरोकार भएका निकायका प्रतिनिधिसँग अन्तरक्रियासमेत गर्नुभएको छ ।

अनुगमन टोलीमा स्थानीय सरकारका प्रमुख तथा अन्य जनप्रतिनिधिको सहभागिता थियो । भ्रमण कार्यतालिकाअनुसार अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ, विदुरबाट सुरु भएको थियो । त्यसपछि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुलवारि क्षेत्रबाट बाढीप्रभावित स्थानको अवलोकन गरिएको थियो ।

टोलीले न्यूरेनी सुन्दरी माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टर तथा सामुदायिक बहुउद्देश्यीय भवन, विदुर (नुवाकोट दरबार) को समेत अवलोकन गरेको थियो । कार्यतालिकाअनुसार विदुरस्थित कर्भट हल, चन्द्रज्योति माध्यमिक विद्यालय तथा अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको भवनको अनुगमन गरिएको थियो ।

भ्रमणका क्रममा बाढीका कारण शैक्षिक संस्थाका भवन तथा अन्य पूर्वाधारमा परेको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको पठनपाठनमा परेको प्रभावबारे स्थलगत जानकारी लिनुका साथै प्रभावित विद्यालय तथा विद्यार्थीको शैक्षिक गतिविधि सहज बनाउन आवश्यक पहल गर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरिएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका छन् । सरकारले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट १६ जना शिक्षक र २१७ जना विद्यार्थी सम्पर्कविहीन रहेका छन् भने नौ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ । रासस