२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी



अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडकका कारण ठूला मालवाहक सवारीसाधनको आवागमन अवरुद्ध भएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले सडक तत्काल सञ्चालनमा ल्याउन चासो देखाएको छ । सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तु, इन्धन तथा अन्य सामग्रीको ढुवानी प्रभावित भइरहेका बेला महासंघसहितको टोलीले कृष्णभीर पुगेर सडक निर्माणको अवस्थाबारे स्थलगत जानकारी लिएको हो ।

व्यवस्थापिका संसद्को पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, सदस्य धर्म केसी, सांसद मञ्जु भुसाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ, ट्रक कन्टेनर ढुवानी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटा, नेपाल रोड बोर्डका सदस्य अरुणकुमार श्रेष्ठलगायतको टोलीले कृष्णभीरको सडकको स्थलगत अवलोकन गरेको हो ।

अवलोकनका क्रममा समितिका सभापति गजुरेलले सडक निर्माणमा खटिएका प्राविधिक तथा इन्जिनियरहरूसँग वैकल्पिक ट्र्याक निर्माणको प्रगति र यातायात सञ्चालनमा ल्याउन लाग्ने समयबारे जानकारी लिएका थिए । सडक विभागका अधिकारीहरूले माथिल्लो भागबाट थप पहिरो नआएमा अबको ७ देखि १० दिनभित्र नयाँ ट्र्याकबाट सवारीसाधन सञ्चालन गर्न सकिने जानकारी दिएका छन् ।

नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख सजना अधिकारीका अनुसार कृष्णभीरमा भासिएको सडकलाई छल्न पहाडको भित्ता काटेर हालसम्म २५२ मिटर लामो नयाँ ट्र्याक खोलिएको छ । आवश्यकताअनुसार ट्र्याकको लम्बाइ २७५ मिटरसम्म पुर्‍याउन सकिने उनले बताइन् । हाल नयाँ ट्र्याकलाई थप फराकिलो बनाउने, लेभल मिलाउने र ग्रेडिङ गर्ने काम भइरहेको छ ।

नयाँ ट्र्याकलाई करिब ९ मिटर चौडा बनाउने गरी काम भइरहेको छ । साना सवारीसाधन मात्र नभई ग्यासका बुलेट, इन्धन ट्यांकर, ट्रक, कन्टेनर तथा ठूला मालवाहक सवारीसाधनसमेत सञ्चालन गर्न मिल्ने गरी ट्र्याक तयार पार्ने काम भइरहेको अधिकारीले जानकारी दिइन् । सडक निर्माणमा अहिले ९ वटा डोजर तथा स्काभेटर परिचालन गरिएको छ ।

पृथ्वी राजमार्गमा भएको अवरोधले सबैभन्दा बढी असर ढुवानी व्यवसायमा परेको छ । विशेषगरी काठमाडौं उपत्यकामा बाहिरी जिल्लाबाट आउने खाद्यान्न, इन्धन, ग्यास तथा अन्य दैनिक उपभोग्य सामग्री बोकेका ठूला सवारीसाधन सञ्चालन हुन नसक्दा आपूर्ति व्यवस्थामै समस्या देखिन थालेको छ । वैकल्पिक रूपमा कान्ति लोकपथ र त्रिभुवन राजपथ प्रयोग गर्न सकिए पनि ती सडकमा ठूला तथा भारी मालवाहक सवारीसाधन सञ्चालन गर्न सहज नभएकाले पृथ्वी राजमार्ग खुलाउनु अत्यावश्यक भएको व्यवसायीहरूले बताएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सडक अवरुद्ध हुँदा ढुवानी व्यवसायी मात्र नभई आम उपभोक्ता र समग्र आपूर्ति प्रणालीमा असर पर्ने बताएका छन् । उनले सडकको क्षमता र प्राविधिक मापदण्डभन्दा बढी भार बोकेर सवारी नचलाउन व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

बानियाँले ओभरलोडका कारण सडकमा अतिरिक्त भार पर्ने र त्यसले सडक संरचनामा क्षति पुर्‍याउनुका साथै सडक भासिने, पिच बिग्रने तथा दुर्घटनाको जोखिमसमेत बढाउने भएकाले व्यवसायीहरूले जिम्मेवार भएर सवारी सञ्चालन गर्नुपर्ने बताएका छन् । सडकको दीर्घकालीन संरक्षणका लागि व्यवसायीले पनि सडकको भार क्षमता र तोकिएको मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदीमा आएको ठूलो बहावले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो । त्यसक्रममा नदीले कृष्णभीरको पुछारमा ‘टो–कटिङ’ गर्दा सडकको जग कमजोर बनेपछि करिब १२० मिटर सडक पूर्ण रूपमा बगेको थियो । कृष्णभीरमा भएको क्षतिका कारण अहिले बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने ठूला मालवाहक सवारीसाधनको आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।

यसैगरी मलेखुबाट काठमाडौं जानेतर्फ करिब एक किलोमिटर दूरीमा रहेको परेवाभीरमा करिब १०० मिटर सडक बाढीले बगाएको छ । चरे (चालीसे) क्षेत्रमा करिब ४० मिटर सडक बगेपछि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । नागढुंगा चेकपोस्टबाट करिब ७०० मिटर तल पात्लेवनमा पनि करिब ८० मिटर सडक बाढीले बगाएको छ ।

ट्रक व्यवसायी महासंघसहितको टोलीले सडकको अवस्थाबारे स्थलगत जानकारी लिएपछि नयाँ ट्र्याक निर्माणको काम तीव्र पार्न र निर्धारित समयमै यातायात सञ्चालनमा ल्याउन जोड दिएको छ । नयाँ ट्र्याक सञ्चालनमा आएपछि काठमाडौं उपत्यकातर्फ हुने ठूला मालवाहक सवारीको आवागमन सहज हुने र आपूर्ति व्यवस्थामा देखिएको समस्या क्रमशः कम हुने अपेक्षा गरिएको छ ।