मकवानपुर । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कैलाश गाउँपालिका र हेटौंडास्थित सिएमसी हस्पिटलबीच द्विपक्षीय सम्झौता भएको छ।
सम्झौतापत्रमा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र सिएमसी हस्पिटलका प्रमुख परिचालन अधिकारी डा. आकेश प्रजापतीले हस्ताक्षर गर्नुभएको हो। सम्झौतासँगै गाउँपालिकाका नागरिकले हस्पिटलबाट उपलब्ध हुने विभिन्न विशेषज्ञ स्वास्थ्य उपचार सेवामा विशेष सहजीकरण तथा सहुलियत प्राप्त गर्ने भएका छन्।
गाउँपालिकाका अध्यक्ष मुक्तानले दुर्गम क्षेत्रका नागरिकको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको बताउनुभयो। उहाँले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले विशेषगरी चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको कैलाशका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो।
गाउँपालिकाले स्वास्थ्य पूर्वाधार विकासअन्तर्गत आफ्नै १० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याएको छ। गाउँपालिकाद्वारा जारी नागरिकता, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र पेश गरेर सिएमसी हस्पिटलबाट स्वास्थ्य सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ।
यसैबीच, गाउँपालिकाको आयोजना तथा सिएमसी हस्पिटलको प्राविधिक सहयोगमा शनिबार निःशुल्क स्वास्थ्य शिविरसमेत सम्पन्न भएको छ। शिविरमा बालरोग, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, नाक–कान–घाँटी तथा अर्थोपेडिक र ट्रमा सर्जरीका विशेषज्ञले सेवा दिएका थिए।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार शिविरबाट ३ सय ५० जनाभन्दा बढी स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन्। शिविरमा उपचार गराएका नागरिकलाई थप उपचार आवश्यक परे गाउँपालिकामै सञ्चालित अस्पतालबाट सेवा लिन अध्यक्ष मुक्तानले आग्रह गर्नुभएको छ।











