काठमाडाैँ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका मोरङको लक्ष्मीमार्गका युवाहरू अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता हासिल गरिरहेका छन्। वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरिएको राँगाको सुकुटी व्यवसायले लक्ष्मीमार्गलाई अहिले ‘सुकुटी बजार’का रूपमा परिचित गराउन थालेको छ।
कतारमा छ वर्ष बिताएर स्वदेश फर्किएका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष काम गरेका दिलीप श्रेष्ठ यसका उदाहरण हुन्। सुरुआती समयमा महिनामा २०–३० किलो सुकुटी बिक्री गर्नसमेत कठिन हुने प्रेमको पसलबाट अहिले मासिक सयौँ किलो सुकुटी बिक्री हुने गरेको छ।
प्रेमका अनुसार प्रतिकिलो रु दुई हजार ७०० मा सुकुटी बिक्री हुँदै आएको छ। यसबाट उहाँले मासिक करिब रु दुई लाखसम्म आम्दानी गर्दै आउनुभएको छ। बेलबारी, हरैँचालगायत स्थानीय बजारबाट प्रतिकिलो करिब रु ७०० मा राँगाको आलो मासु खरिद गरी सुकुटी बनाउने गरिएको उहाँले बताउनुभयो। आलो मासुको बढीमा एक चौथाइ मात्र सुकुटी बन्ने उहाँको भनाइ छ।
“विदेशमा गरेको कडा मेहनत र परिवारबाट टाढा बस्नुपर्ने अवस्थाभन्दा आफ्नै घरमा परिवारसँग बसेर गरेको व्यवसायले धेरै सन्तुष्टि दिएको छ,” वैदेशिक रोजगारीबाट फर्किएर विगत ११ वर्षदेखि सुकुटी व्यवसायमा लाग्नुभएका शोभितमान श्रेष्ठले भन्नुभयो।
प्रेम र दिलीपसँगै अन्य युवासमेत पछिल्लो समय सुकुटी व्यवसायमा आकर्षित भएका छन्। पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि लक्ष्मीमार्ग अहिले सुकुटीको स्वाद लिन पुग्ने प्रमुख गन्तव्य बन्न थालेको विराटनगरका सेन्जम फुयालले बताउनुभयो।
लक्ष्मीमार्गमा उत्पादित सुकुटीको माग स्वदेशमा मात्र सीमित छैन। बेलायत र अमेरिकामा रहेका नेपाली समुदायबाट समेत माग आउन थालेको व्यवसायी दिलीप श्रेष्ठले बताउनुभयो। विशेषगरी कोसेलीका रूपमा विदेशमा पठाउन यहाँको सुकुटीको माग बढ्दै गएको उहाँको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारबाट माग बढे पनि परम्परागत उत्पादन शैली, आवश्यक जनशक्तिको अभाव तथा उत्पादन क्षमता सीमित हुँदा मागअनुसार सुकुटी उपलब्ध गराउन कठिन भइरहेको व्यवसायीहरू बताउँछन्।
वैदेशिक रोजगारीमा बगाउने पसिना र समय आफ्नै माटोमा लगानी गर्न सके स्थानीय परिकारलाई समेत सफल व्यवसायमा रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय बजारमा ब्रान्डका रूपमा स्थापित गर्न सकिने प्रेम श्रेष्ठको विश्वास छ। लक्ष्मीमार्गको सुकुटी व्यवसायले स्वदेशमै रोजगारी र आम्दानीको सम्भावना खोजिरहेका युवाका लागि नयाँ उदाहरणसमेत प्रस्तुत गरेको छ।










