काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राजधानीका धरधनीलाई घर भडामा बस्ने सङ्ग बढि भाडा नलिन चेतावनी दिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरेका हुन् ।
आइतबार प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘तोकिएको भन्दा बढी दरमा भाडा असुल्नु गैरकानूनी हो । प्राधिकरणसँग निश्चित दरमा किनेको बिजुली त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।’
प्राधिकरणले खपतका आधारमा प्रति युनिट तीन रुपैयाँदेखि १३ रुपैयाँसम्म महसुल लिन्छ । तर, कतिपय घरबेटीहरुले भाडावालासँग २० रुपैयाँसम्म असुल्ने गरेको उजुरी आएको प्राधिकरणले जनाएको छ ।
घिसिङले भने, ‘यस्तो प्रवृत्तिले प्राधिकरणप्रति नै जनमानसमा गलत धारणा विकास हुन सक्ने भएकाले हामीले गम्भिरता पूर्वक लिएका छौं ।’