काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई आर्थिक तथा अभिभावकीय रुपमा वर्गीकरण गरी छात्रवृत्ति प्याकेज ल्याइने बताउनुभएको छ ।
सोमवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित रसुवा बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि छात्रवृत्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीको पारिवारिक आर्थिक अवस्था र अभिभावक गुमाएको अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराइने बताउनुभएको हो ।
उहाँले बाढी प्रभावित पालिकाका विद्यार्थीलाई आवासीय सुविधा, विद्यालयमै आवासीय व्यवस्था तथा पूर्ण छात्रवृत्तिमार्फत सरकारले सहयोग प्रदान गर्ने बताउनु भयो ।
उहाँका अनुसारदुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता, एकजना अभिभावक गुमाएका विद्यार्थीलाई दोस्रो प्राथमिकता र आर्थिक अवस्थाका आधारमा अन्य विद्यार्थीलाई प्राथमिकता दिने सरकारको नीतिको नीति छ ।
उहाँ रसुवा, धादिङ र नुवाकोटमै रहेर अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई समेत सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले बाढी प्रभावित क्षेत्रका विद्यार्थीको लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गर्ने तयारी भइरहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले विपद्बाट प्रभावित नागरिक तथा भविष्यमा पनि यस्तो प्रकारको विपद्बाट शिक्षा क्षेत्रमा हुनसक्ने क्षतिको विषयमा हामी पूर्वतयारी अवस्थामा रहेका छौँ । अहिले बाढी प्रभावित पालिकाको जति पनि विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरूको लागि सरकारले गर्छ । कतिजना आवासीय रूपमा, कति विद्यालयमा आवासीय रूपमा बसेर पनि पढिराख्नुभएको हुन्छ, कतिले पूर्ण छात्रवृत्ति पाउनुहुन्छ । विभिन्न खालको क्याटेगोराइज गरेर, कतिजना विद्यार्थीले दुवैजना अभिभावक गुमाउनुभएको छ, उहाँहरूलाई अलिकति बढी प्रायोरिटी दिनुपर्यो, त्यसपछि एकजना अभिभावक गुमाउनुभएको हुन्छ, उहाँलाई त्यसपछिको दोस्रो प्रायोरिटी दिनुपर्यो, आर्थिक स्थिति हेरेर प्रायोरिटी दिनुपर्यो । सोहीअनुसार प्राथमिकीकरण गरेर सोहीअनुसार पढाउँछौँ । नुवाकोट, रसुवामै रहेर पढ्न मन छ भने उहाँहरूलाई पनि कुन किसिमले हामीले सहारा दिन सक्छौँ, त्यो सबै किसिमले हामी आजको दिन एउटा टिम भएर चाहिँ हामीले यो कार्यक्रम हामीले घोषणा गर्दै छौँ । प्रारम्भिक रूपमा अहिले हामी चारवटा संस्थाहरूलाई मात्र यता प्रतिनिधित्व गरेर निमन्त्रणा गरेका छौँ, तर यसमा जोडिन अन्य धेरै निजी क्षेत्रका संघ–संस्थाहरूले पनि रुचि देखाउनुभएको छ, चासो देखाउनुभएको छ । उहाँहरूलाई पनि जोडिनको लागि पनि म आह्वान गर्छु । र आजको यस कार्यक्रम सुनिश्चित भविष्य छात्रवृत्ति योजना पनि हामी सबैजना मिलेर हामी त्यसको घोषणा गर्नेर्छौँ ।’
उहाँले छात्रवृत्ति योजनामा सरकारले बढीभन्दा बढी निजी क्षेत्रको सहयोग खोजिरहेको भन्दै छलफल र सुझाव दिन समेत उहाँले सबैमा आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल









