तनहुँ। सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँको व्यास नगरपालिका-१४ तथा बन्दीपुर गाउँपालिका-३ र ६ अन्तर्गत पर्ने दमौली-केशवटार-सुखौरा-ढाँडखोला-खहरे-बुद्धसिंह मार्ग सडक स्तरोन्नतिका लागि रु १५ करोड बजेट विनियोजन गरेको छ ।
सोही अनुसार सडकको विभिन्न खण्डमा छुट्टाछुट्टै बजेट परिचालन गरी स्तरोन्नतिको काम अघि बढाउने तयारी गरिएको हो ।
विनियोजित रकममध्ये दमौली-केशवटार-सुखौरा खण्डको स्तरोन्नतिका लागि रु १३ करोड र ढाँडखोला-खहरे-बुद्धसिंह सडक खण्डका लागि रु दुई करोड खर्च गर्ने गरी योजना अघि बढाइएको छ । सडक स्तरोन्नतिका लागि आवश्यक लागत अनुमान तयार गरी बोलपत्र प्रक्रिया अघि बढाउन सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय, पोखरालाई सिफारिस गर्ने निर्णय गरिएको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको उपस्थितिमा बसेको बैठकले सडक स्तरोन्नतिका लागि विनियोजित बजेटलाई प्राथमिकताका आधारमा परिचालन गर्ने निर्णय गरेको हो । व्यास नगरका सहायक प्रशासकीय अधिकृत भेषराज तिवारीले रु १५ करोडमध्ये दुई खण्डमा विभाजन गरी सडक स्तरोन्नति गर्ने दुवै पालिकाबीच सहमति भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएपछि अब निर्माणको प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि बढाउनुपर्ने छ । सम्बन्धित निकायसँग समन्वय गरी समयमै बोलपत्र आह्वान तथा निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिएको उहाँले बताउनुभयो ।
दमौली-केशवटार-सुखौरा-ढाँडखोला-खहरे-बुद्धसिंह मार्गले व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका विभिन्न क्षेत्रलाई जोड्छ । ग्रामीण क्षेत्रका बासिन्दाको दैनिक आवागमनसँगै कृषि उत्पादनको ओसारपसार र बजार पहुँचका लागिसमेत यो सडक महत्वपूर्ण मानिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
सडकको स्तरोन्नति भएपछि ग्रामीण क्षेत्रबाट दमौली बजारसम्मको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ । यसबाट स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन, कृषि तथा पशुपालन व्यवसाय विस्तार गर्न तथा ग्रामीण क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने व्यास-१४ का वडाध्यक्ष काजिमान श्रेष्ठले बताउनुभयो ।
सडकले बन्दीपुर क्षेत्रसँग जोडिने भएकाले पर्यटन विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । सडकको अवस्था सुधार हुँदा पर्यटकीय तथा ग्रामीण गन्तव्यमा पुग्ने यात्रुका लागि सहजता बढ्ने र स्थानीयस्तरमा पर्यटनसम्बन्धी व्यवसाय विस्तारमा सहयोग पुग्ने बन्दीपुर-३ का वडाध्यक्ष परमेश्वर भट्टराईले बताउनुभयो ।









