२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सरकारी कोषमा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

सोमवार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी प्रवक्ता देवराज चालिसेले बाढीपीडितको उद्धार र राहतलाई पार्टीले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

प्रवक्ता चालिसेकाअनुसार पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । अर्थमन्त्रीले समेत यति ठूलो रकम सहयोग गर्ने नेपाली काँग्रेस पहिलो राजनीतिक दल भएको उल्लेख गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

काँग्रेसले बाढीपीडितको उद्धार र राहत कार्य अझै प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । प्रवक्ता चालिसेले सरकार ‘प्रचारमुखी भन्दा पनि परिणाममुखी’ हुनुपर्नेमा जोड दिनुभयो । प्रभावित क्षेत्रमा हैजाको प्रकोप फैलिन सक्ने जोखिमप्रति शतर्क रहन र पुनस्र्थापनाका लागि दीर्घकालीन योजना बनाउन काँग्रेसले सरकारलाई आग्रह गरेको छ । विपद्  व्यवस्थापन विभागका संयोजक मोहन आचार्यसहितका विज्ञहरूको परामर्शमा पार्टीले एक विस्तृत नीतिगत प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने निर्णय समेत गरेको छ । जसमा भत्किएका पूर्वाधारको दिगो पुनर्निर्माण र भविष्यमा हुनसक्ने क्षतिको न्यूनीकरणका उपायहरू समावेश हुनेछन् ।

यस्तै, प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घको भ्रमणका सन्दर्भमा जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे दरिलो ढङ्गले आवाज उठाउन काँग्रेसले सुझाव दिने भएको छ ।

बैठकले पार्टीको १४ औँ महाधिवेशनसँग जोडिएको सदस्यता नवीकरण र अध्यावधिक सम्बन्धी विवादलाई समेत समाधान गरेको छ । पुस महिनासम्म नवीकरण गरिसकेका तर प्राविधिक कारणले डिजिटल प्रणालीमा ‘अध्यावधिक’ हुन नसकेका सदस्यहरूलाई अधिवेशनमा भाग लिनबाट वञ्चित नगर्ने निर्णय भएको छ ।

प्रवक्ता चालिसेले भन्नुभयो, ‘पार्टीलाई आधुनिक र डिजिटल बनाउन अध्यावधिक प्रक्रिया शुरु गरिएको हो, तर यसैका कारण कोही पनि सदस्य मताधिकारबाट वञ्चित हुने छैनन् । अनुशासन उल्लङ्घन गरेका वा स्वेच्छाले पार्टी छाडेका बाहेक अन्य सबै सदस्यले अधिवेशनमा भाग लिन पाउने ढोका खुलेको छ ।’

बाढीपहिरोका कारण देशका ४० भन्दा बढी जिल्ला प्रभावित भएकाले तत्कालै वडा अधिवेशन सञ्चालन गर्न कठिनाइ भएको भन्दै कांग्रेसले निर्वाचन समितिलाई कार्यतालिका परिमार्जन गर्न अनुरोध गरेको छ ।

पार्टीले आगामी असोज १६, १७ र १८ गतेका लागि तय गरिएको केन्द्रिय महाधिवेशनको मुख्य मिति परिवर्तन नहुने गरी प्रारम्भिक चरणका निर्वाचन कार्यक्रमहरू केही दिन पर सार्न निर्वाचन समितिलाई सुझाव दिएको छ । यसबारे निर्वाचन समितिले मङ्गलवार बस्ने बैठकबाट आधिकारिक निर्णय लिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल