काठमाडौँ। गाजा पट्टीमा आईतवार बिहानैदेखि भएको इजरायली हवाई आक्रमणमा परी १८ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
युद्धविराम सम्झौता कार्यान्वयनका लागि कूटनीतिक प्रयासहरूमा प्रगति भइरहेको दाबी गरिए पनि इजरायलले आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिएको हो ।
गाजास्थित नागरिक रक्षा विभाग (सिभिल डिफेन्स) का प्रवक्ता महमुद बसलकाअनुसार इजरायली ड्रोन र हेलिकप्टरहरूले आइतबार बिहानैदेखि गाजाका विभिन्न भागमा १० भन्दा बढी हवाई हमला गरेका छन् ।
ती आक्रमणहरू गाजा पट्टीको उत्तरी क्षेत्रदेखि दक्षिणसम्मका आवासीय भवन, विस्थापितहरूले आश्रय लिइरहेका पाल, सर्वसाधारणका सवारी साधन र भीडभाड भएका क्षेत्रहरूमा केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता बसलले मारिने १८ जनामध्ये चार बालबालिका र दुई महिला रहेको पुष्टि गर्नुभएको छ ।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूकाअनुसार राति करिब १ बजे भएको शक्तिशाली विष्फोटले आवासीय क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । उद्धार कार्यमा संलग्न स्थानीय बासिन्दाले भवनको भग्नावशेषबाट क्षतविक्षत अवस्थामा शवहरू निकालिएको र घटनास्थलको अवस्था अत्यन्तै विभत्स रहेको बताएका छन् । उद्धारका क्रममा एक गर्भवती महिला र उनको गर्भमै रहेको शिशुसमेत मृत अवस्थामा फेला परेको हृदयविदारक जानकारी प्राप्त भएको छ ।
यसैबीच, हमासले एक प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामका लागि मध्यस्थता गरिरहेका राष्ट्रहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ । प्यालेस्टाइनी नागरिकमाथि भइरहेको इजरायली आक्रमणको कडा निन्दा गर्दै हमासले सम्झौता अनुरूप युद्ध रोक्न इजरायलमाथि तत्काल दबाब दिन मध्यस्थकर्ताहरूसमक्ष आह्वान गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल











