काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित बाल गीताञ्जली माध्यमिक विद्यालयका ३० जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल (एनसीसी) अन्तर्गत जुनियर डिभिजन तालिम प्रदान गरिएको छ। नेपाल सेनाअन्तर्गतको राष्ट्रिय सेवा दलले सञ्चालन गर्ने उक्त तालिम एक सय दिनसम्म चल्नेछ।
तालिममा १५ जना छात्रा र १५ जना छात्र सहभागी रहेका छन्। तालिमको ७९ दिनको कार्यक्रम बाल गीताञ्जली स्कुलमै सञ्चालन गरिनेछ भने बाँकी २१ दिनको आवासीय तालिम बर्दीबासमा सम्पन्न गरिने जनाइएको छ।
प्युठ अमित कुमार दास र प्युठ मुकेश यादवको नेतृत्वमा सञ्चालन हुने उक्त तालिम एक सय दिनसम्म निरन्तर चल्नेछ।
स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरेले राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिमले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले यो तालिम केवल सैनिक प्रशिक्षणमा सीमित नभई विद्यार्थीहरूलाई समाज र राष्ट्रप्रति जिम्मेवार, सचेत तथा सक्षम नागरिक बनाउन प्रभावकारी माध्यमका रूपमा रहेको बताए।
विद्यालयका अनुसार यस प्रकारका तालिमले अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास तथा राष्ट्रसेवाको भावना अभिवृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।











