९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

मन्त्रीजी छिमेकी, रुम् कि हाँसम् !

मन्त्रीजी छिमेकी, रुम् कि हाँसम् !
अ अ+ अ-

०७२ साल वैशाख १२ गतेको रात मानिसहरू आ–आफ्ना शयनकक्ष छाडेर चौरमा हानिए । खुला आकाश हेरेर सुते । यो इतिहासमै नेपालीहरूले गरेको सबैभन्दा ठूलो टेन्टेड क्याम्प थियो । सबै खुला आकाशमुनि आएको दिन । एक हिसाबले भन्ने हो मानिसहरूको भ्रम च्यातिएको दिन थियो त्यो । महलमा बस्दैमा, गाडी चढ्दैमा, खाली जमिनलाई हेला गर्नेहरूलाई चौरले गिज्याइरहेको थियो । ‘देख्यौ पासा आखिरमा मै त रहेछु नि दुःखमा काम लाग्ने,’ भन्दै थिए चौरहरू । चौर अरू वेला फोहोर थुपार्ने र कुकुरलाई शौच गराउने ठाउँ थियो । त्यस रात शयनकक्ष बन्यो । मानिसहरूले थाहा पाए सबैभन्दा सुरक्षित खुला जमिन रहेछ । त्यो रात आकाश कति शान्त देखिन्थ्यो अनि धर्ती कति अशान्त ।

लामखुट्टे इतिहासमै सबैभन्दा बढी रमाएको समय थियो त्यो । हरेक दिन लामखुट्टेहरू भोज गर्थे । हाम्रो रगतको चुस्की लिन्थे । कैयौँ पेग रगतको चुस्की लिएपछि सायद ती कतै गएर मस्त निदाउँथे वा धेरै धोकेपछि कोही सिद्धिन्थे । कतिले त पेग लिँदालिँदै आक्रमणमा परेर देहत्याग पनि गरे होलान् । जमिन हल्लिँदा निधन भएका हजारौँ मानिसहरूको सूचीमा आफ्नो नाम नपरेकामा बाँचेका मानिसहरू त्यही खुल्ला जमिनमा लम्पसार परेर आकाश हेर्दै भगवानलाई धन्यवाद दिइरहेका थिए । लामखुट्टेको टोकाइ त्यो डरका अगाडि के नै थियो र । त्यो समय खुला जमिन कति प्रिय थियो । त्यो बाध्यताको पिकनिकमा हामीलाई सहरका बेचेखुचेका खुला जमिनले कत्रो राहत दिएका थिए ।

कचौराजस्तो उपत्यकाको पिँध लगभग भरिइसक्यो । सहर बेलगाम फैलिरहेछ । हालैको एक अध्ययनले भन्छ– उपत्यकामा सन् २००० मा झन्डै ६४ वर्गकिलोमिटर क्षेत्रफलमा बसोवास थियो । सन् २०१८ मा त्यो बढेर लगभग १५० वर्गकिलोमिटर पुगेको छ । दुई दशकमा साढे दुईगुणाको वृद्धि । काठमाडौं विश्वमै सबैभन्दा उच्च गतिमा सहरीकरण भइरहेका १० सहरको सूचीमा पर्छ । बागमतीले बनाएका फाँटहरूमा बिस्तारै घरहरू फल्दै छन्, अहिले त्यो चोभार काटेर दक्षिण झरिसक्यो । बागमतीले उपत्यका छाड्दा बनाएको गहिरो खोँचले चोभार र भैँसेपाटीलाई छुट्याइदियो ।

चोभारको पूर्वमा बागमतीको देब्रे किनारबाट उचालिएको जमिनको थाप्लोमा फराकिलो फाँट छ, त्यसको नाम भैँसेपाटी । पहिला भैँसीपाटी अहिले मान्छेपाटी । त्यही थाप्लाको पश्चिममा ठूलो चौर छ । जो कसैले त्यहाँ पुग्नेबित्तिकै भन्छ, ‘यो जमिनमा अहिलेसम्म कसैको आँखा लागेको छैन ?’ त्यही चौरको छेउमा हामी सरेको ४८ घन्टापछि हिमालय पर्वत घरक्क भयो । जमिन वेगले हल्लियो । त्योभन्दा वेगले हाम्रो तनमन हल्लियो । हामी पनि बिस्तारा बोकेर त्यही चौरमा पुगेका थियौँ । उत्तानो परेर आकाश हेरेका थियौँ । सोधेका थियौँ– किन आकाश हल्लिरहेको छैन ? अनि धर्ती किन काँपिरहेको छ ?

जब मानिसहरू भुँइचालोपछि चौरभरि सुतिरहेका थिए, यस्तो लाग्थ्यो– हामी सुतेको चौर सामूहिक बगैँचा हो । अब सबैले माया गर्नेछन् । खुला जमिनको महत्व हामी सबैले बुझ्यौँ । तर, सोचेजस्तो कहाँ हुन्छ ? त्यसको केही दिनपछि फेरि मानिसहरूले आफू सुतेको चौर बिर्से । अरूको त कुरै छाडौँ, पढेलेखेका, राम्रै आम्दानी भएका, स्वघोषित सभ्य मानिसहरू कुकुरलाई शौच गराउन त्यही चौरमा यताउता गर्न सुरु गरिहाले । यी तिनै मानिस हुन् जो त्यसको केही बेरपछि आफ्नै कुकुरको आची चिल्ला गाडीले कचक्क पारेर कार्यालय जान्छन् । यस्तो देख्दा आफैँलाई धिक्कार्दै सोध्न मन लाग्छ– के मान्छे साँच्चै बुद्धिमान् प्राणी हो ?

मानिस राम्रो घरमा बसेको छ । राम्रो गाडी चढ्छ । राम्रा कपडा लगाएको छ । राम्रो जागिर खान्छ होला, तर पनि आफैँ हिँड्ने बाटो, अरू बस्ने चौरमा कुकुरलाई शौच गराउँदा ऊ पटक्कै लाज मान्दैन । भुइँचालो गइहाल्यो भने त्यही मान्छे फेरि आफ्नै कुकरको गुहुमा सुत्न आउनुपर्छ भन्ने पनि हेक्का राख्दैन । मान्छेले कहिले चेत्छ ? किन ऊ यति सामान्य कुरा पनि बुझ्दैन ? यस्तै प्रश्न गर्दै म भुइँचालोपश्चात् सुतेको चौरको सयौँपटक फेरो मार्थे । त्यही अहिलेसम्म आँखा नलागेको जमिनमा केही समयअघि प्रधानमन्त्रीजी हुइँकिएर गए र भने, ‘अब यहाँ हाम्रा मन्त्री सुत्छन् ।

यो चौरमा सयौँ घर बनाइनेछ । त्यहाँ अहिले काम नपाएर हल्लिरहेका प्रदेशका मुख्यमन्त्रीजीहरूलाई निवास बनाएर भुलाइनेछ । अनि ललितपुरको पुल्चोकमा रहेको मन्त्रीनिवासमा मन्त्रीजीहरूलाई काम गर्न गाह्रो भयो । यस्तो उकालो लागिरहेको देशका मन्त्रीजीहरू पुराना घरहरूमा कुचुक्क परेर बसेको पटक्कै सुहाउँदैन । त्यसैले आधुनिक महलहरूमा मन्त्रीजीहरूलाई बसाइनेछ ।

यो सहर हामी सबै मिलेर बिगार्यो । सहर भनेको घर र बाटा भन्ने बुझ्यौँ । नदीमा गुहु बगायौँ, हावामा धुवाँ । जमिनमा पिलर गाड्यौँ, रूखमा आरा लगायौँ । जता जता खाली जग्गा देख्यौ उतै महल ठड्यायौँ । होइन, हामीले यो कस्तो सहर बनायौँ ? हामीले किन यति चाँडै भुइँचालो बिर्सियौँ ? किन यति चाँडै हामीमा अहम् जाग्यो ? सय वर्षअघि होइन ।

दश वर्षअघि पनि होइन । जम्मा चार वर्षअघिको कुरा हो यो, हामी सबै चौरमा सुतेको । व्यक्तिले त लौ बिर्सियो, तर सरकारले त सामूहिक हितको वकालत गर्छ भन्ने लागेको थियो यद्यपि लाग्नु एउटा कुरा हो, हुनु अर्को कुरा । सोचेको थिएँ– कम्तीमा खुम्चिँदै गएको खुला जमिनमा सरकारले पार्कहरू बनाउनेछ । अर्को विपद्मा फेरि काम लाग्ने ती खुला जमिनलाई मास्नेछैन ।

भूमाफियालाई तह लगाएर सरकारले खुला जमिनको रक्षा गर्ला । हरेक वर्ष सरकारले भन्नेछ– हामीले यो वर्ष यति पार्क बनायौँ । हामीलार्ई भुइँचालोले सिकायो । तर, सरकारलाई त त्यो खुला चौर देखेर असह्य भइरहेको रहेछ । अरूलाई सिकाउनुपर्ने मन्त्रीजीहरू यो चौर मास्नमा कसिने भए । प्रधानमन्त्रीले पर्सिएको यो खुला जमिन छिट्टै काटिनेछ । त्यसमा राता–निला मन्त्रीनिवास बन्नेछन् । झन्डा फहराइनेछन् । साइरनजडित गाडीहरू हुइँकनेछन् । म र छोरी खेलेको त्यो चौर एक सम्झनामा मात्रै हुनेछ । ज्या के भयो यस्तो ।

केही समयअघिदेखि नै मन्त्रीनिवास बन्ने खबरले जग्गा कारोबारीहरू खुब रमाएका थिए । बग्रेल्ती क्याफे खुलेका छन् भैँसेपाटीमा अहिले । काठमाडौंको ठमेलपछि ललितपुरको झम्सीखेल झमेल भयो, अब भैँसेपाटी भमेल बन्नेवाला छ । तीन वर्षमा जग्गाको मूल्य तीनगुणा बढी भइसक्यो । मन्त्रीजीहरू आएपछि त झन् कति गुणाले बढ्ने हो, थाहा छैन । केही समयअघि एउटा क्याफेमा बसेर कफी खाँदै थिएँ, छेउको मानिसले फोनमा कुरा गर्दै भने, ‘म दलचोकमा छु, तँ यतै आइज ।’ खासमा उनी भैँसेपाटी आवासको गेटनजिकै थिए । उनले फोन गरेका मानिस केही बेरमा आइपुगे र भने, ‘के हो नाम नै फेरिदिएको यो ठाउँको, दलचोक रे ।’ उत्तर फर्कियो, ‘ल हेर उः त्यहाँ रूखको छेउमा अहिले एउटा जग्गा बैना भइरहेछ । हरेक दिनजसो यहाँ दुई–चार जग्गा बैना भइरहेका हुन्छन् । त्यसैले मैले दलचोक भनेको ।’

वास्तवमा त्यो खुला जमिन नै त्यो ठाउँको सुन्दरपक्ष थियो । सय रोपनी बढी क्षेत्रफलको खाली जग्गा रिङरोडभित्र त अब कल्पना नै भइसक्यो । रिङरोड बाहिर पनि खाली जग्गा भेट्न मुस्किल पर्दै गएका वेला लागेको थियो– भुइँचालोको सम्झनामा सरकारले आफ्नो यो जग्गाबाट पार्क बनाउने अभियान सुरुवात गर्ने छ । तर, कस्तो सोझो नागरिक म, हरे ? त्यस्तो असामान्य कुरा सोच्ने आँट मैले कसरी गरेँ ? के मैले ठूलो अपेक्षा गरेँ वा म निकै भावुक भएँ ?
दलचोकका कारोबारीहरू गद्गद् भए पनि प्रधानमन्त्रीले शिलान्यास गरेदेखि मन अशान्त भएको छ । न त मलाई मन्त्रीजीहरू आउने कुराले हर्ष छ, न त घरजग्गाको मूल्य बढेकोमा खुसी । बरु मलाई चौर मासिएकोमा दुःख लागेको छ र त्योसँगै मन्त्रीजीहरूको सवारीको डरले मन उत्तिकै पिरोलिएको छ । मन्त्रीजीहरूको सुरक्षामा प्रहरीको पहरा बढ्नेछ । आखिर हाम्रो प्रहरी मन्त्री–नेताजीकै लागि हुन् भन्ने कुरा पटक–पटक प्रमाणित भई नै सकेको छ । त्यसलाई भिआइपी एरिया घोषणा गरिनेछ । चकाचक हुनेछ । म पनि एकदम खुसी हुनुपर्ने । आफैँलाई सुरक्षित ठान्नुपर्ने, तर मन पट्क्कै खुसी छैन । एकातिर खुला चौरको नाश अर्कातिर मन्त्रीजीहरूको त्रास । किन म मेरै नेताहरूसँग यति डराइरहेछु ? के यो जरुरी छ ? आफैँलाई प्रश्न गर्छु ।

म डराउनुका अरू पनि थुप्रै कारण छन् । मलाई मन्त्रीजीहरूको गाडीमा जडित साइरनको आवाजले अहिले नै तर्साइरहेको छ । प्रहरीका जवानहरूले बन्दुक तेस्र्याएर मतिर फर्की तर्ने आँखाले मलाई त्रसित गरिरहेछ । मन्त्रीजी सवार हुने सवारीको वेगले त्यो चौरको वरिपरि खेल्ने, साइकल चलाउने केटाकेटीलाई कतै सुइँकाउला कि भन्ने डरले म अहिले नै आत्तिइसकेको छु ।

मन्त्रीजीलाई कम्ता हतार हुँदैन । देश बनाउन तल्लीन मन्त्रीजीहरू आँधीहुरीको वेगमा आउने–जाने गर्छन् । म अहिलेदेखि नै कायल छु । आफ्नै नेता–मन्त्री आउँदा किन मलाई स्वागत गर्न मन लागिरहेको छैन ? अहिले नै पनि भैँसेपाटीमा कति नेता–मन्त्री बस्छन् । रामोराम ढाँटेको होइन, उनीहरूलाइ देख्दा मलाई नमस्ते गरौँजस्तो पटक्कै लाग्दैन । किन म उनीहरूलाई देखेपछि नमस्ते गर्नुपर्ला कि भनेर अर्कातिर मोडिन्छु ?

किन हातहरू उचालिन्नन् ? किन आशा जाग्दैन ? के मलाई मात्रै यस्तो भएको हो कि अरूलाई पनि भइरहेको छ ? के म निराशावादी भएँ ? त्यस्तो नुहुनुपर्ने । अहिलेसम्म सबै कुरा बुझेर यही बसेको मानिस कसरी निराशावादी हुन सक्छ ? हामीले बनाएका नेता–मन्त्री देखेर हामीलाई यस्तो अत्यास किन लागिरहेको छ ? के म फेरि भावुक मात्रै भएको हुँ ? म बुझ्दिनँ । आफैँलाई प्रश्न गर्छु । यो देशमा प्रश्न मात्रै गर्ने हो, उत्तर कसैले दिँदैन भन्ने थाहा पाई–पाई पनि प्रश्न गर्न मन लाग्छ ?

मिल्छ भने मन्त्रीजी तपाईं नआउनुस् । त्यो खाली जग्गामा पार्क बनाउनुस् । कहिलेकाहीँ टहल्न आउनुस् । बिन्ती मात्रै गर्न खोजेको हो । यसै पनि यो लोकतन्त्रको युगमा नागरिकले बिन्तीभन्दा माथि केही गर्न पाएकै कहाँ छ र ? अरू के नै भनौँ र मन्त्रीजी, चौर त गइगयो, तर तपाईं आउने नै भए पनि हाम्रो सातो नलिनुस् । हामी सुतेको चौरमा अब तपाईं भोज गर्नुस् । मोज गर्नुस्, तर हामीलाइँ आतंकित नपार्नुस् । नागरिकको जय त कहिल्यै भएन, तपाईंको जय होस् ।
नयाँ पत्रिकाबाट