इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा टोरीनोलाई ३–० गोल अन्तरले पराजित गर्दै इन्टरले जित निकालेको हो । घरेलु टिमविरुद्ध जित दिलाउनका लागि इन्टरका लाउटरो मार्टिनेज, स्टेफान डी भ्रीज र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए ।
मार्टिनेजले खेलको १२ औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा स्टेफानले इन्टरको अग्रता २–० को बनाए । त्यसपछि पुनः खेलको ५२ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई ३–० को जित दिलाउन सफल रहे ।
जितसँगै दोस्रो स्थानको इन्टरले १३ खेलमा ३४ अंक जोडेको छ । युभेन्ट्सविरुद्ध दबाब बढाएको छ । शीर्ष स्थानको युभेन्ट्सको ३५ अंक रहेको छ । पराजित टोरीनो १४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।