युएईमा भएको टी–१० क्रिकेट लिगको उपाधि मराठा अरेबियन्सले उठाएको छ । आइतबार राति भएको फाइनलमा अरेबियन्सले डेकन ग्लाडीयटर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । आबु धाबीमा ग्लाडीयटर्सले दिएको ८८ रनको लक्ष्य अरेबियन्सले ७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
अरेबियन्सको जितमा चाड्विक वाल्टनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै क्रिस लिनले १६ तथा नाजिबउल्लाह जाड्रले अविजित १२ रन बनाएका थिए । ग्लाडीयटर्सका जाहोर खान र मिगेल पिट्रोरिउसले एक एक विकेट मात्र लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ग्लाडीयटर्सले १० ओभरमा ८ विकेट गुमायर ८७ रन बनाएको थियो । उसका आसिफ खानले अविजित २५ तथा भानुका राजपाक्षले २३ रन बनाएका थिए । अरेबियन्सका ड्वाने ब्राभोले २ विकेट लिए ।