३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाडीमा युद्धको त्रासः इजरायलमा हिजबुल्लाहको हमला, इरानमा इजरायलको आक्रमण जारी



अ+ अ-

खाडीमा जारी द्वन्द्व अझै रोकिएको छैन । गत शनिबार इरानमाथि अमेरिकी सहयोगमा इजरायलले आक्रमण सुरु गरेपछि एक अर्कामाथिको आक्रमण झन् चर्किएको छ ।

सोमबार बिहानै बिबीसीले दिएको जानकारी अनुसार इरानको राजधानी तेहरानमा हमला भएको छ । तेहरानको आकासमा कालो मुस्लो धुवाँ निस्केको र तेहरानका विभिन्न स्थानमा बमबारी भएको बताइएको छ । तर यो क्षतिको विवरण भने अझै केही प्राप्त हुन सकेको छैन ।

यता लेबनानस्थित इरान समर्थित समूह हिजबुल्लाहले इजरायलमा पनि मिसाइल र ड्रोनले हमला गरेको जनाइएको छ । इजरायलले अमेरिकासँग मिलेर इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेपछि त्यसको बदला भन्दै आइतबार हिजबुल्लाहले लेबननबाट त्यहाँ हमला गरेको हो ।

इरानले लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँदै आएको छ ।

हिजबुल्लाहले गएराति हैफाको दक्षिणमा रहेको इसराइली सेनाको मिस्मार हा–कार्मेल मिसाइल रक्षा केन्द्रलाई लक्षित गर्दै मिसाइल र ड्रोन प्रहार गरिएको अल–मनार टेलिभिजनमार्फत जारी वक्तव्यमा जनाएको छ ।

तर इजरायलले भने लेबननबाट प्रहार गरिएको हमला निस्तेज पारिएको र अन्य केही हवाई हतियारहरू खुला क्षेत्रमा खसालेको जनाएको छ ।
आक्रमणबाट भएको मानवीय क्षतिका बारेमा कुनै सूचना भने प्राप्त नभएको बताइएको छ ।