४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग

रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद ललितजङ्ग शाहीले नेपाल रेडक्रस सोसाइटीमा व्याप्त तदर्थवाद अन्त्य गरी संस्थालाई विधिसम्मत रूपमा सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले अतिक्रमित सरकारी, सार्वजनिक तथा गुठीका जग्गा तत्काल फिर्ता ल्याउनसमेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद शाहीले नेपाल रेडक्रस सोसाइटीको वर्तमान अवस्था, सार्वजनिक जग्गा अतिक्रमण तथा विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

वि.सं. २०२० सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटीले ६ दशकभन्दा बढी समयदेखि मानवीय सेवा, रक्तसञ्चार तथा विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै उहाँले पछिल्लो समय संस्थामा तदर्थवाद हाबी भएको बताउनुभयो ।

२०७७ सालदेखि सरकारले पटक–पटक निर्वाचित कार्यसमितिलाई निलम्बन गरी तदर्थ समिति गठन गर्दा संस्था गतिहीन बनेको उहाँको भनाइ थियो । नयाँ विधानअनुसार निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारीले निर्वाचन रोक्न निर्देशन दिएकोप्रति समेत उहाँले आपत्ति जनाउनुभयो ।

शाहीले रेडक्रसलाई अन्तर्राष्ट्रिय मूल्य–मान्यता र प्रचलित कानुनअनुसार सञ्चालन गर्न दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “रेडक्रसलाई तदर्थवादबाट मुक्ति दिलाएर अन्तर्राष्ट्रिय मूल्य–मान्यता र प्रचलित कानुनअनुसार सञ्चालन हुन दिनुपर्छ । स्थगित निर्वाचन प्रक्रिया सुचारु गर्न गृह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अविलम्ब पहल गरुन् ।”

सांसद शाहीले सरकारी, सार्वजनिक तथा गुठीका जग्गा अतिक्रमण गर्नेहरूलाई कारबाही गरी जग्गा फिर्ता ल्याउन सरकारसँग माग गर्नुभयो । विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईको अध्यक्षतामा २०७६ सालमा गठित आयोगले देशका विभिन्न भागमा ८ हजार १९२ रोपनी जग्गा अतिक्रमित भएको प्रतिवेदन दिएको स्मरण गराउँदै उहाँले हालसम्म जग्गा फिर्ता ल्याउन ठोस पहल नभएकोमा असन्तुष्टि जनाउनुभयो ।

सुशासनको अनुभूति दिलाउन सरकारले उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

अन्तर्राष्ट्रिय खुशी दिवसको प्रसङ्ग उल्लेख गर्दै शाहीले नेपाललाई सुखी तथा खुशी राष्ट्रहरूको सूचीमा माथि उठाउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो । कुल गार्हस्थ्य उत्पादन, औसत आयु, गुणस्तरीय शिक्षा तथा मानवअधिकारको अवस्थामा सुधार गरेर मात्र नागरिकमा वास्तविक खुसी ल्याउन सकिने भन्दै उहाँले आगामी नीति, कार्यक्रम तथा बजेट त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

विभिन्न समयमा गठित आयोगका प्रतिवेदन कार्यान्वयन नभएकोप्रति समेत उहाँले गुनासो गर्नुभयो । भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले २४ गते भएको गम्भीर घटनालाई उपेक्षा गर्दै आंशिक प्रतिवेदन बुझाएको उहाँको आरोप थियो ।

जिम्मेवारीपूर्वक काम नगर्ने आयोगका पदाधिकारीले लिएको सेवा–सुविधा तथा भत्ता सरकारले फिर्ता गराउनुपर्ने मागसमेत शाहीले गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसलाई समेत सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गरी मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।