१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे
अ अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको सङख्या निरन्तर बढ्दो छ ।

सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पहाडी क्षेत्रमा पुगे पनि पर्याप्त रोजगारी र सहज जीवनयापनको अभावका कारण तराई झर्ने क्रम नरोकिएको हो ।

नगरपालिकाको सूचना तथा प्रविधि शाखाको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा शुक्लाफाँटामा कूल तीन हजार ४५ जना बसाइँ सरेर आएका छन् । आव २०७९/८० मा एक हजार १२ जना नगरपालिकामा भित्रिएका थिए । सो सङख्या २०८०/८१ मा घटेर ९३५ मा सीमित भए पनि आव २०८१/८२ मा पुनः बढेर एक हजार ९८ पुगेको छ ।

बसाइँ सरेर आउनेहरूको आकर्षण मुख्यतया बजार क्षेत्र र बजार विस्तार हुँदै गरेका वडातर्फ केन्द्रित देखिन्छ । सूचना तथा प्रविधि शाखा प्रमुख लोगराज भट्टका अनुसार वडा नम्बर ८, १० र ११ मा जनघनत्व तीव्र रूपमा बढेको छ । वडागत विवरण अनुसार आव २०८१/८२ मा वडा नम्बर ८ मा सबैभन्दा बढी १६४ जना बसाइँ सरेर आएका छन् ।

वडा नम्बर ११ मा १३५, वडा नम्बर ७ र ५ मा समान १२५ तथा वडा नम्बर १० मा ११८ जना भित्रिएका छन् । यसअघिल्लो आव २०८०/८१ मा भने वडा नम्बर ८ मा सबैभन्दा बढी १९७ जना बसाइँ सरेर आएका थिए ।

बसाइँ सरेर आउनेमध्ये अधिकांश सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका रहेका छन् । त्यसपछि अछाम, बझाङ र बाजुराबाट आउनेको सङ्ख्या उल्लेख्य छ । बसाइँसराइ गर्नेमा अधिकांश पहाडी समुदायका नागरिक रहेका छन् भने आदिवासी थारु समुदायको सहभागिता भने निकै न्यून रहेको छ ।

यता, नगरपालिकाबाट अन्यत्र बसाइँ सरेर जानेहरूको सङ्ख्या पनि पछिल्लो वर्ष बढेको छ । आव २०७९/८० मा ३८८ र २०८०/८१ मा ३५४ जना बाहिरिएकोमा आव २०८१/८२ मा यो सङ्ख्या बढेर ५२२ पुगेको छ । यद्यपि, बाहिरिनेको तुलनामा भित्रिनेको सङ्ख्या झण्डै दोब्बर बढी देखिन्छ ।

पहाडी क्षेत्रमा विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जालको पहुँच विस्तार भए पनि आर्थिक आत्मनिर्भरता र रोजगारीका अवसर नहुँदा बसाइँसराइ बढेको नगरपालिकाका नगर प्रवक्ता लालबहादुर ऐर बताउनुहुन्छ ।

“पहाडमा आधारभूत सेवा त पुगेका छन्, तर जीविकोपार्जनका लागि उद्योग, कलकारखाना र पर्याप्त कृषि आम्दानीको अभाव छ”, उहाँले भन्नुभयो, “त्यसैले मानिसहरू सहज जीवनयापन र अवसरको खोजीमा बजार र सडक पहुँच भएका क्षेत्रतर्फ केन्द्रित भइरहेका छन् ।” अव्यवस्थित बसाइँसराइका कारण तराई क्षेत्रमा जनघनत्व बढ्नेक्रम जारी रहेकाले खेतीयोग्य जमिन खण्डीकरण हुने र सहरी सेवामाथि चाप पर्ने चुनौती थपिँदै गएको उहाँको विश्लेषण रहेको छ । रासस