८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीका सच्याउनु पर्ने विषय सच्याएर अनुदान भने लिनुपर्छ: शेखर कोइराला



अ+ अ-

बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीका बुँदा सच्याएरै भए पनि अनुदान लिनुपर्नेमा जोड दिएका छन् । एमसीसी विवाद तन्किँदै गएकाले यसलाई छिट्टै टुंग्याउन पनि उनले सरकारसँग माग गरेका छन् । एमसीसी अनुदानमा सैन्य रणनीति जोडिएको कतिपयले बताइरहेका बेला कोइरालाले भने चर्चा गरिएजस्तो सैन्य रणनीति नरहेको पनि बताएका छन् ।अहिले बजार हल्ला एकातिर र एमसीसी अर्कोतिर भएको पनि उनले बताए ।

नेता कोइरालाले भने, ‘एमसीसीमा केही सच्याउनु पर्ने विषय छन् भने अमेरिकासँग छलफल गरेर टुंग्याउनु पर्छ । तर अनुदान भने लिनुपर्छ ।’ एमसीसी विवादमा अमेरिकी दूतावासको भूमिकाले पनि केही हदसम्म काम गरेको उनले बताए । उनले भने, ‘पहिले इन्डोप्यासिफिक भाग जस्तै भन्यो, अहिले होइन भन्यो । यसले केही विवाद पक्कै सिर्जना गरेको छ ।’ अमेरिका सरकारसँग छलफल गरौं र अनुदान लिऔं,’उनले दोहोर्याए ।

एमसीसीमा केही स्वार्थ भए पनि यसलाई नेपालको हितमा उपयोग गर्नुपर्ने उनको भनाइ छ । नेता कोइरालाले सरकारमा बहुमतको दम्भ देखिएको र संघीयताकै मर्मविपरीत अघि बढेको आरोप पनि उनले लगाए । ‘सरकारले सुशासन दिन सकेन, भ्रष्टाचार पनि बढ्दै गएको छ,’ उनले भने, ‘संघीयताको पक्षमा पनि सरकार देखिएन । केन्द्रले नै सबै कुरा लिने भए संघीयता कसका लागि ?’