कुनै पनि पर्यटकीय गन्तव्यमा पूर्वाधार पुग्नु भनेको त्यससँगै शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता यावत् विषय पुग्नु हो । पर्यटन पूर्वाधारमा गरिने लगानी तोकिएको कामका लागिमात्र गरिने लगानी होइन, यो मुलुककै अर्थतन्त्र विस्तारको मेरुदण्ड पनि हो । यसमा चुनौती छन् तर त्यसबाट माथि उठेर देशको आर्थिक सबलीकरणमा ठूलो भूमिका निर्वाह हुन्छ ।
लगानी गरेअनुसार सरकारले राष्ट्रिय प्राथमिकतामा पनि राख्दै आएको छ । यसमा व्यवसायी आशावादी छौँ । हामीले यही आशा लिएर कैलाली, बर्दियालगायत गन्तव्यमा पर्यटन पूर्वाधार विस्तार योजना अगाडि बढाइसकेका छौँ ।
नेपाल यस्तो गन्तव्य हो जहाँ जुनसुकै जस्तोसुकै परिस्थिति आएपनि पर्यटन बुम हुन धेरै समय लाग्दैन । मुख्यतः क्रस बोर्डर टुरिजमअन्तर्गत क्यासिनोसँगै वैवाहिक पर्यटनका लागि पनि प्रचुर सम्भावना छ । तर भारतीय पर्यटकका लागि लगाइएको मुद्रा सीमितताले प्रभाव पर्दै आएको छ । पर्यटकबाट जति धेरै खर्च हुन्छ त्यति नै मुलुकलाई फाइदा हुने हो ।
हामी आईएमई समूहअन्तर्गत पर्यटन उद्योगका विभिन्न काममा सहकार्यमा लागिरहेका छौँ । आईएमई समूहले मुलुकमा पर्यटनको प्रचुर सम्भावना देखेर नै इला एक्सपेरियन्समार्फत पूर्वाधार विस्तार गर्दै आएको छ। विदेशी मुद्रा भित्र्याउने प्रमुख आधार नै पर्यटन क्षेत्र हो। आईएमई भन्नेवित्तिकै वित्तीय क्षेत्रसँग जोडिएको छ । त्यसैकारण संस्कृत शब्द ‘इला’को अवधारणामा हामी मुलुकको पर्यटन क्षेत्रलाई थप चुस्त बनाउन अगाडि बढिरहेका छौँ ।
हामीले पछिल्लो समय पर्यटन र केबलकार पूर्वाधारमा जोड दिँदै आएका छौँ । अहिले काठमाडौं, पोखरा, गैंडाकोट, नवलपुर र बागलुङमा होटल सञ्चालित छन् । सेल्स एण्ड मार्केटिङमार्फत मौलाकाली केबलकार, लुम्बिनी केबलकार प्रवर्द्धन गर्दै आएका छौँ । आगामी दिन मुलुकको पछाडि परेको क्षेत्रमा पनि पर्यटन पूर्वाधार विस्तार गर्ने व्यावसायिक योजनामा छौँ।
हिमाल, पहाड र तराई जुनै पनि क्षेत्रको कुरा गर्दा आन्तरिक र बाह्य पर्यटकले एकैदिन तीन किसिमको भौगोलिक संरचना, विविध संस्कृति, मौसमको आभास लिन सक्छन्। अहिले हिमाली क्षेत्रको कुरा गर्दा बाह्यसँगै आन्तरिक पर्यटक नै ट्रेकिङमा जाने अभ्यास बढिरहेको छ । तर हिमाली गन्तव्यमा पर्याप्त बसोबासको अभाव देखिएको छ। पहाडी र तराई गन्तव्यमा पनि नेपालीहरु घुम्ने अभ्यास बढ्दो छ।
तराई क्षेत्रमा क्रस बोर्डर टुरिजमको सम्भावना बलियो छ। करिब डेढ अर्ब जनसंख्या भएको छिमेकी मुलुक भारतबाट पर्यटक ल्याउने सम्भावना छ । यता मुस्ताङकै कुरा गर्दा डेढ अर्ब जनसंख्या भएको अर्को छिमेकी मुलुक चीनबाट आउने पर्यटकको संख्या वृद्धि हुँदै गएको छ । सबै पर्यटकीय गन्तव्यमा भारतीय र चिनियाँ पर्यटक आगमनको सम्भावना अझै बढ्ने देखिन्छ । सडक पूर्वाधार विस्तार हुँदै छ । नेपाल भौगोलिक हिसाबले सानो छ तर पर्यटकीय हिसाबले संसारभरकै विशेष छ ।
लदगातार तीन दिन सार्वजनिक बिदा भएको अवस्थामा हाम्रा यहिँ भएका आन्तरिक पर्यटकबाट मुलुकको विभिन्न पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य देख्न सकिन्छ । अर्को त अहिले मुलुकमा आन्तरिक विमानस्थल स्तरोन्नति भइरहेको छ भने नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आइसकेका छन् । हवाई पूर्वाधार नै यातायातको सुरक्षित, आरामदायी र समय किफायती यातायात हो ।
अहिलेको प्रमुख एक्सेस पोइन्ट काठमाडौं मात्र बनेको छ । पोखरा र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चुस्त रुपमा व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको अवस्थामा विदेशी पर्यटकको चहलपहल उल्लेख्य हुने सम्भावना छ ।
सडक पूर्वाधार र हवाई पूर्वाधार विस्तार हुने हो भने पर्यटकको चहलपहल स्वतह वृद्धि हुँदै जान्छ। अहिले चन्द्रागिरिकै कुरा गर्दा काठमाडौंनजिकैको आइकन बन्न सफल भएको छ । काठमाडौं उपत्यकाबाहिरबाट आएका हुन् या अरु मुलुकबाट आएका अधिकांशलाई चन्द्रागिरि विशेष बन्दै आएको छ । व्यस्तताका बाबजुत फुर्सदको दिन चन्द्रागिरिमा जाने यात्रुले दिनभरी साइकलिङ, जिपलाइन, मन्दिर दर्शन, बच्चाहरुलाई मनोरञ्जन, उचाईबाट सहर र हिमश्रृङ्खलाको दृश्यावलोनलगायत क्रियाकलाप गर्न सक्छन् । हामीले यहाँ मात्र होइन मुलुकको अधिकांश पर्यटकीय गन्तव्यमा यस्तै सेवा सुविधा दिने उद्देश्यले पूर्वाधार विस्तार गर्दै आएका छौँ ।
पूर्वाधार विस्तारको काम गर्दैगर्दा पर्यटक आगमनमात्र होइन रोजगार सिर्जना, स्थानीय उत्पादनले पर्याप्त माग पाउनुका साथै संस्कृतिको पहिचान र प्रवर्धन हुन्छ। पर्यटकका लागि नेपाल एउटा नयाँ सिकाइ र अनुभवको केन्द्रबिन्दु हो। जहाँ विभिन्न भौगोलिक संरचनामा रहँदै आएका नेपाली आतिथ्यता, विविध स्वाद, हावापानी, प्राकृतिक छटाको अनुभव आनन्द लिन सक्छन् । पर्यटकका लागि सहज र आरामदायी अनुभव दिनकै लागि हामी कटिवद्ध छौँ । अरु मुलुकमा अत्यधिक चिसो हुँदा नेपालको कुनै पहाडी गन्तव्य भ्रमणका लागि विशेष छ । यहाँको हावापानी अरु मुलुकको भन्दा भिन्न र आरामदायी छ ।
लगानीमा हामी काठमाडौं केन्द्रित मात्र छैनौँ । अन्यत्र पनि सम्भावना देखेर मात्रै लगानी बढाइरहेका छैनौँ, हामी सुरुवाती चरणदेखि नै सम्भावना उजागर गर्ने उद्धेश्यले पर्यटन र पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएका हौँ । लगानी आज गरेर भोलि नै प्रतिफल प्राप्त हुने पनि होइन ।
अहिले भारतीय सीमा क्षेत्रनजिकै रहेका पर्यटकीय गन्तव्यकै कुरा गर्दा उत्कृष्ट होटल आइसकेको अवस्था छ । हिलस्टेसनकै कुरा गर्दा भारतमा देहरादुन जानु पर्यो, सिक्किम, गान्तोक जानुपर्यो। अब नेपालमा त्यस्ता सबै ठाउँ सहज छ। छोटो अवधिमै हिलस्टेसन जान सकिन्छ ।
पर्यटन पूर्वधारको महत्वपूर्ण क्षेत्र बनिरहेको केबलकारले पर्यटकलाई मात्र सेवा दिएको छैन, सबै गन्तव्यमा स्थानीयका लागि सामान ढुवानीका लगि विशेष साधन, वातावरणमैत्री साधन बनेको छ । मनकामना केबलकारकै उदाहरण दिँदा गर्दा गोरखामात्र नभइ समग्र नेपालकै आर्थिक क्षेत्रमा टेवा पुर्याउँदै आएको छ। नेपाललाई ल्याण्ड अफ केबलकार बनाउन सकिन्छ । हाम्रो भौगोलिक संरचना नै त्यस्तै छ। अब पहाड फोडेर बाटो बनाउँदा वातावरण प्रभावित हुन्छ । वर्षौँअगाडिदेखि युरोपमा डाँडातिर जानुपर्यो भने केबलकार नै प्रयोग गर्दै आएका छन् । काठमाडौं-हेटौँडाकै कुरा गर्दा नजिक छ । तर सडकमार्गका कारण दुरी धेरै बढेको हो ।
आजको दिनमा ट्रेकिङ टुरिजम राम्रो छ । तर सबै पर्यटकका लागि त्यो सम्भव छैन । फ्रान्स, स्वीट्जरल्याण्डमा हेर्ने हो भने केबलकार नै हिमालमा पुर्याइएको छ । हुन त यो भौगोलिक हिसाबले चुनौतीपूर्ण यात्रा हो। हाम्रै नेपालीहरुको कुरा गर्दा नेपालमा रहेका हिमाल पुगेका हुँदैनन् तर स्वीट्जरल्याण्डको हिमालमा पुगेको देख्न सकिन्छ । स्किङ गरेको देख्न सकिन्छ । नेपालको सन्दर्भमा इच्छा भएकाले धेरै खर्चमा हेलिकोप्टर चढेरै हिमाली क्षेत्रमा जान सक्दैनन् । यसमा केबलकारबाहेकको विकल्प छैन ।
प्राकृतिक सुन्दरताको अवलोकनसँगै धार्मिक पर्यटन, चलचित्र पर्यटन, खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, अध्यात्म पर्यटनलगायत विभिन्न पर्यटकीय सम्भावना बोकेको देश हो नेपाल । यी सम्भावनाहरूमा राम्ररी काम गर्न सके अर्थतन्त्रको सबलीकरणमा अन्यत्र चिहाउनै पर्दैन ।
हाम्रो देश विकासको सबैभन्दा ठूलो सम्भावना या भविष्य नै पर्यटन हो भन्दा हुन्छ । हाम्रा सम्पदा, प्राकृतिक सौन्दर्य, हिमाल र डाँडाकाँडाहरु नै संसारका पर्यटक रमाउने ठाउँ हुन् । यस्तो अलौकिक हावापानी, प्राकृतिक सौन्दर्य, जातीय तथा सांस्कृतिक विविधता र परम्परा विश्वका अरु कुनै देशमा विरलै पाउन सकिन्छ । साहसिक पर्यटन अर्काे हाम्रो सम्भावना हो । यसलाई खेल कूटनीति मार्फत् हामीले विश्वमै फैलाउन सक्छौँ । त्यसका लागि एक स्पष्ट भिजन र कार्यक्रम चाहिन्छ ।
अर्काे एक महत्वपूर्ण फाइदा हामीलाई के छ भने हामी विश्वकै झण्डै झण्डै एक तिहाई जनसंख्याको बीचमा अवस्थित छौँ । हाम्रा छिमेकी भारत र चीनको जनसंख्या साढे दुइ अर्ब भन्दा पनि बढी छ । यसकारण पनि हामी पर्यटक खोज्न धेरै टाढा जानै पर्दैन । हाम्रो यो अवस्थितिलाई त हामीले वास्तवमा ठूलो बरदानका रुपमा लिन सक्नुपर्छ । मैले हालै पढेको एक तथ्यांकमा बर्षेनि करिब १० करोड भारतीय नागरिक र करिब १५ करोड चिनियाँ नागरिक पर्यटकका रुपमा भ्रमणका लागि बाहिरिन्छन् ।
तीमध्ये कति प्रतिशत हामीले नेपाल भित्र्याउने ? उनीहरुलाई त स्थल र हवाई मार्गबाटै नेपाल आउन सजिलो छ नि । यो योजना हामीसँग छ कि छैन ? हिजोका दिनमा हाम्रै छिमेकका यी करिब २५ करोड नागरिकका लागि हामीले कुनै योजना, रणनीति आदि बनाएर काम गर्यौँ कि गरेनौँ ? यसका लागि हामीसँग छुट्टै र विशेष योजना के छन् ?
तर त्यसो गर्न हामी सकिरहेका छैनौँ । हामीले देखे सुनेका छौँ कि ठूला योजना बनाएर र बर्षौं पहिलादेखि घोषणा गरेर नेपाल भ्रमण बर्ष अघि कार्यक्रम ल्याउँछौँ तर त्यसमा छिमेकी कति छन् त भनेर हेरेका छौँ कि छैनौँ ? यति रणनीतिक महत्वको भूमिमा रहेका हामीले केही लाख पर्यटक खोज्न ठूलो हल्ला गरेर कहाँ कहाँ पुगिरहेका छौँ ? दिल्ली, बेइजिङसँग समृद्धिको समुद्र छ । त्यो समुद्रबाट हामीले कति पानी उभाउन सक्छौँ र स्वदेश भित्र्याउँछौँ भन्ने कुरा हाम्रा योजना, कार्यक्रम, क्षमता र रणनीतिमा भर पर्ने कुरा हो । यो हिसाबबाट हामीले अहिलेसम्म सोचेजस्तो लागेको छैन, अब सोचौँ । यसका लाग हामीले आर्थिक कूटनीति, पर्यटन कूटनीति, सांस्कृतिक कूटनीति या के कस्ता कूटनीति अपनाउनु आवश्यक छ त्यो अपनाउँ ।
यसो हुन सक्यो भने हामीले जतिधेरै पर्यटन पूर्वाधार बनाए पनि पुग्दैन । पर्यटन पूर्वाधारमा हामी नै खर्च गर्छौँ र निर्माण पनि गर्छौँ । अनि पर्यटकको बसाई लम्ब्याउनु पनि हाम्रा लागि अर्का चुनौती छ । यसरी धेरै पर्यटक भित्रिए र तिनका लागि धेरै भन्दा धेरै पर्यटन पूर्वाधारहरु निर्माण भए भने स्वभावतः पर्यटकको बसाई पनि लम्बिन्छ । उनीहरुलाई देख्न र महसुस गर्न आवश्यक अवस्था र संरचना त हामीले नै निर्माण गरिदिने हो नि ।
प्राकृतिक सुन्दरताको अवलोकनसँगै धार्मिक पर्यटन, चलचित्र पर्यटन, खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, अध्यात्म पर्यटनलगायत विभिन्न पर्यटकीय सम्भावना बोकेको देश हो नेपाल । यी सम्भावनाहरूमा राम्ररी काम गर्न सके अर्थतन्त्रको सबलीकरणमा टेवा पुग्नेछ ।
ढकाल युवा उद्यमी हुनुहुन्छ । यो बिचार नेपाल आर्थिक पत्रकार समाजद्वारा २९औं वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘अर्थनीति’ सेजन स्मारिका २०८२ बाट साभार गरिएको हो ।











