जनकपुर। धार्मिक तथा ऐतिहासिक महोत्सव बोकेको जनकपुरधाममा साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि सुरु भएको छ ।
महोत्सवको तयारी पूरा भएको जानकी मन्दिरका उत्ताराधिकारी महन्त रामरोसन दासले जानकारी दिनुभयो । विगत वर्ष जस्तै यस वर्ष जानकी मन्दिरलाई विवाह मण्डप जस्तै सिङ्गारिएको छ । साथै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जानकी मन्दिरको सरसफाइ, पण्डाल निर्माण, झिलिमिली बत्ती, मञ्च तयारीदेखि सांस्कृतिक कार्यक्रमका संरचनासम्म मन्दिर व्यवस्थापनले साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको तयारी पूरा भएको उहाँले बताउनुभयो ।
साथै साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधाम नगरदर्शन, शुक्रबार फूलवारी लिला, शनिबार धनुषा यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मङ्गलबार स्वयंवर तथा शुभ विवाह र बुधबार रामकलेवा हुँदै समापन हुने कार्यक्रम तालिका जानकी मन्दिरले सार्वजनिक गरेको छ ।
भारतको बिहार, उतरप्रदेश, राजस्थानसहित नेपालको सात प्रदेशका हिन्दू धर्मालम्बीहरु दर्शनका लागि आउने गरेको महन्त दासले बताउनुभयो ।
विवाह पञ्चमी महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा प्रभावकारी बनाउन जनकपुरधाममा नेपाल प्रहरी र शास्त्र प्रहरीका गरी एक हजार ७५० सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।रासस










